इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको पहिलो टी–२० आज राति पाैने ११ बजे

काठमाडाैं। इंग्ल्याण्ड भ्रमणमा निस्केको अस्ट्रेलियाको टोलीको पहिलो टी-२० आज हुँदैछ। साउथह्याम्पटनमा हुने पहिलो खेल नेपाली समयअनुसार पाैने एघार बजे सुरु हुनेछ।

कोरोना कहरकै बीच क्रिकेट फेरि सुरु भएपछि इंग्ल्याण्डले पाकिस्तान बाहेक वेष्ट इन्डिज र आयरल्याण्डसँग खेल खेलिसकेको छ भने अस्ट्रेलियाले ५ महिनापछि कुनै खेल खेल्दैछ।

क्रिकेटमा इंग्ल्याण्ड र अस्ट्रेलियाको खेललाई फुटबलमा हुने अर्जेन्टिना र ब्राजिलको खेलका रुपमा हेरिने हुनाले पनि क्रिकेट पारखीहरुमाझ यो खेलको महत्व निकै छ। त्यसमाथि पनि टी–२० वरीयतामा अस्ट्रेलिया एक नम्बरमा छ भने इंग्ल्याण्ड दोस्रो नम्बरमा।

यो शृंखला इंग्ल्याण्डका लागि नम्बर एकमा पुग्ने मौका हुनेछ भने अस्ट्रेलियाका लागि वरीयतामा आफूलाई जाेगाइ राख्ने मौकाका रुपमा रहेको छ। अस्ट्रेलियाका धेरै खेलाडीहरु आईपीएल छोडेर यो शृंखला खेल्न आएका छन्।

अन्य सम्बन्धित समाचार:  इटालियन सिरी ए : युभेन्टस् बराबरीमा रोकियो

अस्ट्रेलिया टिममा तीव्र गतिका बलरहरु मिचेल स्टार्क र प्याट कमिन्स छन् भने स्पिनर एडाम जाम्पा र एस्टन अगर रहेका छन्। ब्याटिङमा डेभिड वार्नर र एरोन फिन्च पनि निकै लयमा रहेका छन्।

यस वर्षको वर्ल्डकप स्थगित भएकाले गर्दा अब हुने शृंखलाहरु अर्को वर्षको वर्ल्डकपमा टोली छान्नका लागि सहयाेगीसिद्ध हुनेछन्। यी दुई टोलीमध्ये टी–२० मा इंग्ल्याण्ड अस्ट्रेलियाभन्दा बलियो देखिएको छ। अस्ट्रेलियाले इंग्ल्याण्डसँग ३ टी–२० र ३ ओडीआई खेल्ने छ। एसेजका नामले चर्चित यी दुई बीचको टेस्ट शृंखला भने यस वर्ष हुने छैन।