भक्तपुरमा कोरोना संक्रमितको घरका ९ जनालाई भित्रै राखि वडाध्यक्षले लगाए ताला

भक्तपुर। भक्तपुरमा एक वडाध्यक्षले कोरोना सङ्क्रमितको घरमा ताला लगाएका छन्।

भक्तपुर नगरपालिका–१० कमलविनायकका वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले कोरोनाबाट संक्रमित स्थानीय एक पुरुषको घरमा उनको परिवारका ९ जनालाई भित्रै राखि घरमा ताला लगाएका हुन्।

४९ वर्षीय ती पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनलाई खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि संक्रमितलाई हाल उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको छ।

सङ्क्रमितलाई होम आइसोलेसनमा राखेर जनप्रतिनिधिले आवश्यक परामर्श र सहयोग गर्नुपर्नेमा वडाध्यक्ष ह्यौमिखाले उल्टै घरभित्र राखेर बाहिरबाट ताला लगाइदिएको पीडित परिवारको आरोप छ।

वडाध्यक्ष ह्यौमिखासहितको टोलीले सङ्क्रमित पुरुषकी आमासहित परिवारका चार जना तथा घरमा डेरागरी बस्ने पाँच जनालाई भित्रै थुनेर घरको मूल ढोकामा ताला लगाएको पाइएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

वडाध्यक्ष ह्यौमिखाले साँचो भने संक्रमितको छिमेकीलाई दिएका छन्। भित्रै थुनिएका ९ जनालाई केही परे छिमेकीलाई भन्नु भनेर गएको पीडित परिवारका एक सदस्यले बताए।

तर वडाध्यक्ष ह्यौमिखाले भने संक्रमित पुरुषकै परिवारका सदस्यहरुको आग्रहमा आफुले घरमा ताला लगाएको बताए।

भाडामा बस्दै आएकाहरु भित्र बाहिर जताततै आवत जावत गरिरहँदा छिमेकीमा पनि कोरोना सङ्क्रमण फैलिने डरले छिमेकी र संक्रमित परिवारको आग्रहमा घरको मुल ढोकामा ताला लगाएको वडाध्यक्ष ह्यौमिखाले बताए।

आफुले प्रहरी र छिमेकीको रोहबरमै ताला लगाएको वडाध्यक्ष ह्यौमिखाको भनाइ छ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले वडाध्यक्ष ह्यौमिखा र छिमेकीकै सहमतिमा संक्रमितको घरमा ताला लगाइएको र प्रहरी रोहवरमा बसेको बताए।रासस

अन्य सम्बन्धित समाचार:  विदेशमा थप २ जना कोरोना संक्रमित नेपालीको मृत्यु