कविता: पद यात्रीहरु

  • देवराज कार्की

हिउँ परेर चुचुरो पुर्छ हरेक साल
कठ्याङ्ग्रिदैन हिमाल झन् हाँस्छ
जति उचाईमा हुन्छ सैलुङ डाँडा
गगनचुम्बी पहाड बर्फिला हुन्छन् त्यहाँ।

जति चिसिन्छ मौसम घनघोर बरफ
पथ्थर भएर झर्छ्न् असिना बग्रेल्ती
पदयात्रामा निस्कने पाइलाहरु पदचाप छोड्दै
हर्षले गदगद् हुन्छन् उक्लिदै उकाली ओरालीहरु।

फाँटमा त्रिपाल टाँगेर बेलुका बस्ती हुन्छ
सिरेटो र हिउँको आक्रमणलाई त्यसैले झेल्छ
बिहान जब हिमाललाई घामका खुट्टाले टेक्छ
सबै घरहरू फेरि भरियाको भरी बन्छन् पिठ्युँमा।

बर्फिला पहाडहरु नाङ्गा हुन्छन् सेताम्मे हाँसेर
दृश्यपान गरेर नअघाउने आँखाहरु मस्त रमेर
लेक लाग्न सक्छ गोजीमा मकै र सातु हुन्छन्
हिड्दै माथि चढ्दा ती सबै फाको मुक्याउछन्।

यात्री कठिनाईको प्रबाह गर्दैनन् गोरेटोमा
निर्धक्क लम्किरहन्छन् लक्ष्य छुन मनको
भोकप्यास मेटाउछन् रमणीय ठाउँहरु
रोकिदैनन् पाइला कतै ती हुन् पदयात्रीहरु।