कविता: वृद्धाश्रम

  •  भवानी नेपाल

झ्यालबाट आएको सम्झनाको
एक हुल हावाको झोंकाले
भित्तामा कठोर किल्लाले ठोकेको
कृत्रिम पुष्पमालाले सुसज्जित
विशाल हृदयको मेरो वहाँको
पुरानो फ्रेमको श्यामस्वेत तस्बिरलाई
हल्लाउदै गर्दा
त्यो मुस्कान झर्ला कि भनि सम्हालिन खोज्छु
बर्षौंपछि त्यही स्पर्श म भित्र दौडन खोज्छ
निर्जीवपनको त्यही फ्रेमभित्र समेटिन्छु
त्यै पनि,
म दु:खी छैन, मन दु:खी छैन।

काखमा राखेर
‘उता हेर बाबु उता हेर’ भन्दै
रीलवाला क्यामेराले खिचिक्क पारेको
३५ बर्षअघिको त्यो निर्दोष तस्विर
सिरानीमुनिबाट झिकेर
फर्काइ फर्काइ हेर्छु,
र पनि,
म दु:खी छैन,मन दु:खी छैन।

‘वहाँको’ हातको चोर औंला समाएर
हाट भर्न गएको प्रत्येक हप्ता
मुरैका डल्ला किन्न
तोते बोलीले गरेको आग्रह सम्झँदा
खाँदै गरेको निश्चल हाँसोको अनुहार र
अघाएको पेट सम्झिँदा
आफैँ अघाए जस्तो लाग्थ्यो
ती पल-पलका यादहरु अहिले पहेंली लाग्छन्
अनायासै भित्र-भित्रै बहकिन्छु
र पनि,
म दु:खी छैन, मन दु:खी छैन।

अन्य सम्बन्धित समाचार:  चिनको लगानीबाट नेपालमा उत्पादन भएको बिजुली भारतमा प्रतिबन्ध

हेर्छु वरिपरि सप्पै आफैजस्तै लाग्छ
तर, नजिकैकी उनी दिनभर
परदेश गएको छोरासँग कुरा गर्छिन्
कसैका आफ्ना भेट्न आउँछन्
कसैका आफन्त भेट्न आउँछन्
मलाया भासिएको छोरादेखि
साउदी गएको नातिसम्म भेट्न आएको सुन्छु
देख्छु पनि यी धुमिल नजरले
त्यै पनि,
म दु:खी छैन, मन दु:खी छैन।

दशैँ आउँछ
तिहार आउँछ
कत्ति तीज आए गए
माघे सङ्क्रान्तिहरु आए गए
सबैका सबै आउँछन्
कसैका कोही आउँदैनन्
मेरा कोही आउँदैनन्, मेरा कोही आएनन्
हजुरले त भित्तैबाट देखिरहनु भएको छ नि हैन र?
रै पनि,
म दु:खी छैन,मन दु:खी छैन।
दुःख त त्यस बखत लाग्छ
जब म बसेको घरको आँगनमा
बाहिर पट्टि ठूलो साइनबोर्डमा
रातो अक्षरले ‘वृद्धाश्रम’ लेखिएको देख्छु