सुशान्तसिंह मृत्यु प्रकरण : अभिनेत्री रियाका भाइ र म्यानेजर पक्राउ

एजेन्सी। भारतीय अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा भारतको लागुऔषध नियन्त्रण ब्यूरो (एनसिबी)ले अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तका म्यानेजर रहिसकेका स्यामुअल मिरान्डालाई शुक्रबार पक्राउ गरेको छ।

दुवै जनालाई लागुऔषध कारोबारको विषयमा पक्राउ गरिएको हो। पक्राउ गर्नु अघि दुवै जनाको घरको खानतलासी लिइएको थियो।

एनसिबीले शौविकको ल्यापटप र अन्य केही कागजात नियन्त्रणमा लिएको छ। एनसिबीले लागुऔषध कारोबारसँग जोडिएका केही व्यक्तिको बयान लिनुका साथै केहीलाई पक्राउ गरेको बताइएको छ।

गत जुन १४ तारिखमा अभिनेता सुशान्तसिंह मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका थिए। मुम्बई प्रहरीले सुरुमा यसलाई आत्महत्या बताएको थियो।

पछि सुशान्तसिंहका बुबाले जुलाई २५ मा बिहारको पटनास्थित राजीवनगर प्रहरी चौकीमा अभिनेत्री रिया चक्रवर्तीविरुद्ध उजुरी दिए पछि घटनाले नयाँ मोड लिएको हो।

अन्य सम्बन्धित समाचार:  विप्लव समूहका ३ जना कार्यकर्ता पक्राउ