हाँस्न नजान्ने मान्छे

  • प्रचण्ड भाष्कर

म नजिकै बगिरहेछ
वर्षौँदेखि एउटा ठूलो दुःखको खोला
जसले चलाईरहेछ मेरो जिन्दगीको घट्ट!
जहाँ म
पिसिरहन्छु अभावका दानाहरू
कुटिरहन्छु भोगका बियाँहरू।

उसै खोलाबाट निस्किएको हो
मलाई पर्याप्त हुने अँध्यारो बत्ती
जसलाई देखेर मुस्कुराईरहन्छ
छेउमै बसेको उज्यालो बस्ती
कुनै दिन दुःखको खोला
सुकिगयो भने?
कहिल्यै नदेखेको सुखको वर्षा
मेरो आँगनमा बर्ष्यो भने?

मलाई डर लागिरहन्छ
कतै उसले
सुकाईलाने/ बगाईलाने त होइन
सरकारले सरोकार राख्ने
उज्यालो बस्तीमा मस्ती गर्ने
हँसिला हस्तीका मुस्कानहरू?
किनकी मलाई हाँस्न आउँदैन!

#कञ्चनपुर