चौताराको गायब इतिहाँस

  • आरपी गाउँले

गाउँमा पञ्च बसेर
न्याय दिने चौताराहरू
अहिले एक्लै जस्ता भएका छन्
पहिला-
चौताराबाटै हुन्थ्यो लाहुरे मरेको खबर
गाउँभरि सुनिने गरी।

चौतारामै हुन्थे साँध सीमाका झगडा
मिलाउँथे चौताराबाटै पञ्च कानूनले
रिकुटे कान्छाले चौताराबाटै फकाई लगेको हो
मेलाबाट फर्किँदा रिकुटेनी भाउजूलाई।

थाकल लाग्थे चौतारामै
भरियाका ढाकर र भारी
सुस्ताउँथे छप्पडमा बटुवाहरू
माथि वरका हाँगामा
थिबिक्माले विरह पोखेको सुन्दै
चौताराबाटै जिम्मा लाईन्थ्यो
दोजिया छोरी चेलीलाई
डिपोप्रोभेरा, पिल्स र कण्डमको आविष्कार हुनुपूर्वै
जन्ती जाने र मलामी पर्खने
ठाउँ हो चौतारो।

गाउँकै कानूनमा कचहरी बस्ने
थलो हो चौतारो
देवरानी जेठानीका
झगडा सुन्न पाइन्थ्यो चौतारामा
सासू बुहारीका
कुस्ती हेर्न पाइन्थ्यो चौतारामा
तरुनीहरूलाई धान नाच्न
सुसेली हाल्ने चोक हो चौतारो।

मुखिया बाले तिरो उठाउन
सूचना दिने कार्यालय हो चौतारो
बेँसीमा मेलो तुरेर एकैछिनको थकाइमा
कुर्लाई हान्ने ठाउँ हो चौतारो
देउसी भैलो र मारुनी नाच्न जाँदा
भेला हुने संगम हो चौतारो
क्याप्टेन बाजेको बर्खान्तमा
धनसारे कान्छाले चार इन्च ख्याल–ख्याल पारेको
माङ्गेना उठाउने कठघरा हो चौतारो।

चुनावमा जितेका र हारेकाहरूको
उर्दी जारी गर्ने ठाउँ हो चौतारो
लाहुर गएकाहरूले छुट्टीमा आउँदा
हातको पाली लाएर
घरको चुच्ची हेर्ने ठाउँ हो चौतारो
परदेशीहरू घर आउँदा कोसेलीको झोला बिसाउने
बिसाउनी हो चौतारो।

सट्टामा –
अहिले जथाभावी डोजरले भत्काएर
बनेको छ धुलौटे बाटो
चौताराका पुराना साक्षी बसेका छप्पडहरू
माटोमुनि कहिल्यै नदेखिने गरी
बनाइएछ गायब
एकादेशको कथा जस्तै भएछ
बटुवा सुस्ताउने वर पीपलको छायाँ
विरह बोलाउने न्याउली
र वसन्त ल्याउने कोईलीबिना
शून्य भएछ गाउँ
हराएछन् चौतारी
हराएछन् कुवा
हराएछन् परदेशीले एकैछिनको थकाई मार्ने विश्राम
अनि गायब भएछ चौताराको पुरानो इतिहाँस।