७० करोड युरो तिर्न नसक्दा मेस्सीले बार्सिलोना छोड्न सकेनन्

एजेन्सी। विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सीले अब बार्सिलोना नछोड्ने भएका छन्।

उनले शुक्रबार राति गोल डटकमलाई अन्तर्वार्ता दिँदै ७० करोड युरो तिर्न नसक्दा बार्सिलोना छोड्न नसकेको बताए।

यति धेरै रकम जो कोहीले पनि तिर्न नसक्ने मेस्सीको भनाइ छ। ३३ वर्षीय अर्जेन्टिनी फुटबलर मेस्सी दुई सातायता निकै तनावमा थिए। उनी बार्सिलोना छोड्न चाहन्थे।

तर बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउले क्लब छाड्ने भए मेस्सीलाई ७० करोड युरो तिर्न भनेका थिए।

उनले बार्सिलोना छाड्न अर्को उपाय अदालत धाउने भए पनि आफुले त्यसो गर्न नसक्ने बताए।

मेस्सीको बार्सिलोना छाड्ने निर्णय उनकी श्रीमती र बच्चाहरूले मन पराएका थिएनन्। उनीहरु कोही पनि बार्सिलोना छाड्न चाहन्नथे।

अन्य सम्बन्धित समाचार:  तीन लाख ४८ हजार डोज कोभ्याक्सको खोप आज नेपाल आउँदै

मेस्सीको बार्सिलोना छोड्ने कुरा सुनेर उनीहरु निकै रोए। मेस्सीका बच्चाहरू हाल बार्सिलोनामै पढ्दै आएका छन्। उनीहरु आफ्नो विद्यालय परिवर्तन गर्ने पक्षमा नहुँदा समेत मेस्सीलाई समस्या भएको थियो।

यसबीचमा मेस्सीका बुबा जर्ज मेस्सी अर्जेन्टिनाबाट बार्सिलोना आएर क्लबका अध्यक्ष बर्टोमेउसित भेट गरेका थिए।

मेस्सीले आफु बार्सिलोनाका शुभचिन्तक र पत्रकारहरुबाट दुःखी भएको बताए।

मेस्सी कीर्तिमानी खेलाडी हुन्। उनले हालसम्म बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन्। बार्सिलोनासित मेस्सीको सम्झौता सन् २०२१ सम्म रहेको छ।