बाग्लुङ। बागलुङको ढोरपाटन नगरपालिकाको भुजी खोलाको बाढीले बगाएका २४ जनाको अझै केही अत्तोपत्तो छैन।
बाढीले बगाएका १४ को शव भटिएको छ। शव भेटिएकाको पनि पहिचान हुन सकेको छैन। कोहीको टाउको, कसैको हात र खुट्टा मात्र फेला परेको छ।
मध्यरातमा एक्कासी बाढी आउँदा धेरैले ज्यान गुमाएका हुन्। राति सुतेकाहरुले बाढी आएको पत्तै नपाएका बाढीबाट बाँचेकाहरुले बताएका छन्।
बाढीको आवाज सुनेर बिउँझिएकाहरु भने भागेर ज्यान जोगाउन सफल भएका थिए। बालबालिका र वृद्ध वृद्धा भने भाग्न सकेनन्।
बाढीमा बग्नेमा एक महिने शिशुदेखि ८० वर्षका वृद्धवृद्धासम्म रहेका छन्। बाढीले घर, विद्यालय, जलविद्युत, स्वास्थ्य चौकी, झोलुङ्गे पुललगायत संरचना बगाएको छ।
बाढीले बगाएका मध्ये तीन जना सम्पर्कमा आएका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। ढोरपाटन नगरपालिका–७, ८ र ९ वडाका गाउँ बाढीले उजाड बनाएको छ।
सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पुर्याएको छ। बाढीले भुजी खोला किनारका फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा धेरैजसो घर बगाएको छ। ढोरपाटन–९ मा ७३ घरमा र ढोरपाटन–८ मा १० घरमा पूर्ण रुपमा क्षति पुगेको छ। ४८ घरमा आंशिक क्षति पुगेको रेग्मीले बताए।
पाँच सय १८ जना विस्थापित भएका छन्। १७१ भौतिक संरचनामा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।