सिरहा: राेकिराखेकाे ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सिरहा। सिरहामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

शनिबार चोहर्वा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका-५, पानबारी नजिकै बिग्रिएर रोकिराखेको ट्रयाक्टरमा नम्बर नभएकाे (अन टेस्ट) मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। ज १ त ४३२९ नम्बरको ट्रयाक्टरमा चोहर्वाबाट सिरहा आउँदै गरेको अन टेस्ट मोेटरसाइकल ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्ज डीएपी सन्तुलाल जैसवालले बताए।

ट्रयाक्टरसँग ठोक्किएपछि मोटरसाइकलमा रहेका तीन जना गम्भीर घाइते भएका र उपचारको क्रममा लहानस्थित राउ स्मारक अस्पतालमा सिरहा नगरपालिका ५ का १९ वर्षिय अमलेश महतो र २१ वर्षीय सुनिल कुमार सदाको मृत्यु भएको डीएसपी जैसवालले बताए।

अन्य सम्बन्धित समाचार:  बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

मोटरसाइकलमा रहेका सिरहा नगरपालिका ५ का १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएकोमा थप उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।