सुवास आचार्य, बागलुङ। ढोरपाटन नगरपालिकाको बोबाङमा भदौ १७ गते राति आएको भिषण बाढीपहिरोमा बेपत्ता भएका ३८ जनामध्ये शनिबारसम्म १६ जनाको शव फेला परेको छ। प्रहरीले बेपत्ताको खोजीका क्रममा शनिबार बिहान १ जना र दिउँसो १ जना गरी २ जना पुरुषको शव फेला परेको हाे।
बेपत्ता २२ जनाको पनि खोजी कार्य जारी रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए। बाढीमा परेर घाइते भएका २ जनामध्ये एक जनालाई पाल्पा र एक जनालाई पोखरा पठाइएको छ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङसहितको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरी आवश्यक राहत बाँडेको छ। मुख्यमन्त्री गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, चन्द्र बहादुर बुढा सहितले घटनास्थलमै पुगेर शनिबार राहत उपलब्ध गराएका हुन्।
अवलाेकनका क्रममा मुख्यमन्त्री गुरुङले पीडितहरुलाई स्थायी आवास निर्माणका लागि संघ सरकारले उपलब्ध गराउने प्रतिपरिवार ३ लाख रुपैयाँमा गण्डकी प्रदेशले समेत थपेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।