२०७७ भाद्र २१ देखि २७ गते सम्मको साप्ताहिक राशिफल

  •  ज्यो.दीपक गुरु (डबल गोल्डमेडलिष्ट)

यस हप्ता
२१ गते आइतवार चतुर्थीश्राद्ध । इन्द्रध्वजपातन (नानीचाया) परेको छ ।
२२ गते सोमवार पञ्चमीश्राद्ध । निजामती सेवा दिवस ।
२३ गते मङ्गलवार षष्ठीश्राद्ध । शिक्षा तथा साक्षरता दिवस ।
२४ गते बुधवार सप्तमीश्राद्ध । महालक्ष्मीव्रत समाप्ति ।
२५ गते बिहीवार अष्टमीश्राद्ध । अष्टमीव्रत । गोरखकाली पूजा । जीवत्पुत्रिका व्रत (जितियापर्व) ।
२६ गते शुक्रवार मातृनवमी । नवमी श्राद्ध ।
२७ गते शनिवार दशमी श्राद्ध ।

यस हप्ताभित्र जन्म पर्ने सबै दर्शक तथा पाठक महानुभावहरुलाई रामसर मिडिया युट्युब च्यानल एवं नेपाली पत्रिका डट्कमको तर्फबाट उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घजीवनको हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

मेषः
साता आंशिक अनुकूल रहने देखिन्छ । शुरुमा पेशा, व्यवसाय, व्यापार आदिमा केहीहद्सम्म उन्नति प्रगति हुन गई आर्थिक आर्जन हुनेछ । मानइज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सत्कार तथा उपहार प्राप्त हुनसक्ने छ । शेयर तथा व्यवसायिक कार्यमा लगानीको प्रस्ताव आउने छ । शारीरिक उमङ्ग एवं मानसिक बल बढ्ने छ । शान्ति र सन्तोष मिल्ने छ । मङ्गगलवार मध्याह्नतिरबाट अपेक्षा गरे अनुसार नभए पनि आंशिक उपलब्धि हुनजाने छ । बोली व्यवहारमा भने ख्याल पुर्याउनु पर्ला । सञ्चित धनको खर्च गराउने गोचर ग्रहको योग देखिएको छ । आफ्नै मान्छेको द्वेत व्यवहारले पीडा दिनेछ । परकार्यमा समय दिनपर्ने छ । केही मात्रामा व्यवसायिक लाभ हुनेछ । शुक्र र शनिवार शारीरिक पराक्रम बढेर आउने छ । काम गर्ने जाँगर चल्ने छ । कामभन्दा अल्लि बढी फुर्ति हुनजाने सम्भावनालाई भने नकार्न सकिन्न । समयको सदुपयोग गरी व्यवहारिकतालाई महत्त्व दिएर अघि बढ्नु बुद्धिमानी हुनेछ । केही अवरोधको बाबजुत व्यवसायिक लाभ र राम्रै कामकार्यको जमर्को हुनेछ । स्वकर्मलाई निरन्तरता दिनाले परिणाम अनुकूल लयाउनसकिने छ । यो साता मेष राशिका व्यक्तिहरुले भगवान सूर्यनारायण, विघ्नविनाशक गुरुगणपति एवं महावीर हनुमान र भैरवदेवको स्तुति उपाशना वा आफ्नो कुलधर्म संस्कृति अनुसार सूर्य, मङ्गल र शनि एवं केतु ग्रहको शान्तिका उपायहरूअप्नाउनु शुभदायक हुनेछ ।

वृषः
साता मिश्रित फलदायी रहने छ । मङ्गलवार मध्याह्नसम्म खर्च बढ्ने गोचर योग परेकोले धनको व्यय हुने सम्भावना देखिएको छ । कामकार्यमा संघर्षको अनुभूति हुनेछ । स्वास्थ्यमा मन्दि आउने छ भने आलोकचहरूपनि बढ्ने देखिन्छ । समय विपरित छ भन्ने जानेर धैर्यधारण पूर्वक कार्य संपादन गर्नु तथा जनव्यवहार गर्नु बुद्धिमानी हुनेछ । तदोपरान्त मन प्रसन्न हुने वातावरण सृजना हुनेछ । कामकार्यमा सहज अनुभूति हुनेछ । स्वजनसँग संपर्क बढ्ने छ । शुभसमाचार मिल्ने छ । पेशा तथा व्यवसाय एवं नोकरी आदिमा सफलता, उपलब्धि र लाभ प्राप्ति हुनेछ । विशेष कामकार्यको बारेमा योजना तर्जुमा हुनजाने छ । मेजमानी प्राप्त हुनेछ । क्रमशः बोलीमा कडापन, आहारमा दोष आदिको बाबजुत प्रशासनिक पक्षमा सफलता मिल्ने छ । सांगठानिक कामकार्यमा प्रगति हुनेछ । सामदामदण्डभेदको नीतिको मनोविज्ञान हावी हुनेछ । बलपूर्वक राजनीति एवं सामाजिक वचस्व बढ्ने छ । फुर्ति फार्तिपूर्ण व्यवहारलाई भने संयम गरेको बुद्धिमानी हुनेछ । व्यवसायिक उन्नति र आर्थिक लाभ हुनेछ । नाककान घाँटीको समस्या नदेखिएला भन्न सकिनन । यो साता वृष राशि हुने व्यक्तिहरुले भगवान सूर्यनारायण, शनि महाकाल एवं भैरवदेव र माँ बगलामुखीको भक्ति स्तुति तथा उपाशना वा आफ्नो कुलधर्म संस्कृति अनुसार सूर्य, बृहस्पति, शनि एवं राहु केतु ग्रहको शानितका उपायहरूअवलम्बन गर्नु र गुरु तथा मान्यजनको आशीर्वाद लिनु शुभ दायक हुनेछ ।

मिथुनः
साताको शुरु र अन्तिम खण्ड अनुकूल देखिएको छ । पेशा तथा व्यवसायिक उन्नति भई समय परिस्थिति अनुसार गर्जो टर्ने गरी आम्दानी हुनेछ । उद्योगधन्दा फस्टाउने छ । प्रख्याति बढ्ने, समर्थन जुट्ने र विजय प्राप्त हुनेछ । लगनशीलतापूर्वक कर्मक्षेत्रलाई समय दिएर बढी फाइदा उठाउनु तपाईको लागि बुद्धिमानी हुनेछ । साह्रो गाह्रो कामलाई सम्पन्न गर्न सहयोगी मिल्ने छन् । विद्यार्थीहरुले पढाईमा प्रगति गर्नसकिने छ । मङ्गलवार मध्याह्नतिरबाट भने केही सावधानी अप्नाउनु पर्ने समय छ । केही प्रतिकूलता सृजना हुनसक्ने छ । स्वास्थ्यले पनि दुःख दिनसक्ने सम्भावना छ । खानपान आदिमा होसियारी गर्नुपर्ला । पारिवारिक असमझदारी बढ्नसक्ने र खर्चको मात्रा पनि बढेर जाने कुरालाई गोचरग्रहको स्थितिले देखाइरहेको छ । सावधानीपूर्वक जनव्यवहार गर्नु बुद्धिमानी हुनेछ । शुक्र र शनिवार पुनः गोचरग्रहमा सुधार आउने छ । सौहार्दपूर्ण वातावरण बन्ने छ । शारीरिक स्फुर्ति र उमङ्ग बढ्ने छ । व्यापार व्यवसायमा वृद्धि हुनछ । कामकार्यमा रुचि बढेर आउने छ । नोकरी तथा पेशामा सफलता र उन्नति भई लाभ बढ्ने छ । स्वागतसत्कार तथा मेजमानी एवं सौगात मिल्ने छ । स्वादिष्ट भोजन मिल्ने छ । पेशागत लगानीको सोँच तथा प्रस्ताव आउने छ । दाम्पत्य तथा प्रेम सम्बन्ध सुदृढ हुनेछ । आंशिक रुपमा आक्रोश, चोटपटक, रीशरागको संभावनालाई नकार्न सकिन्न । यात्राादि र स्वास्थ्यको मामलामा ख्याल गर्नुहोला । यो साता मिथुन राशि हुनेहरुले भगवान महावीर हनुमान, भैरवदेव र गुरुगणपतिको उपाशना तथा श्रद्धाभक्ति वा आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक तरिकाले मङ्गल, शनि र राहुकेतुको शान्तिका उपायहरूअवलम्बन गर्नु शुभदायक हुनेछ ।

कर्कटः
साताको पहिलो र दोस्रो खण्ड अनुकूल रहने छ । शुरुमा इज्जत मानसम्मान पदप्रतिष्ठा मिल्ने छ । समाजसेवा, राजनीति, सांगठानिक कार्य आदिमा भूमिका थपिने तथा स्वामित्त्व बढ्ने छ । उच्च तहसँग संपर्क जोडिने छ । केहीहद्सम्म उद्यम, व्यवसाय तथा व्यापार फस्टाउने र आम्दानी बढ्ने छ । किसान तथा अन्य पेशाकर्मीको लागि पनि सन्तोषकर समय रहने छ । प्रशंसा बढ्ने छ । सामाजिक प्रभुत्व विकास हुनेछ । समर्थक बढ्ने छन् । न्यायिक विजय मिल्ने छ । कर्मयोगलाई महत्त्व दिएर बढी फाइदा उठाउनु बुद्धिमानी हुनेछ । साताको अन्त्य काल भने केही विपरित रहने छ । आफ्नै कारणले बनिसकेको काम पनि बिग्रनसक्ने भय छ । व्यवहारिकता एवं विचार नपुर्याउँदा पछि पछुतोमा पर्ने संभावना छ । चोटपटक एवं स्वास्थ्य समस्या देखिने, मालसमाज हराउने वा क्षतिखति हुनसक्ने तथा तपाईको हातबाट बहुमुल्य सामान बिग्रनसक्ने भय पनि छ ख्याल गर्नुहोला । धैर्यधारण गरी विपरित समय टर्न दिनु उचित हुनेछ । कर्कट राशि हुनेहरुले यो साता भगवान सूर्यनारायण, माँ बगलामुखी र गुरुगणपतिको श्रद्धाभक्ति स्तुति आराधना उपाशना वा आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक तरिकाले सूर्य, मङ्गल र बृहस्पति ग्रहको शान्तिका उपायहरूअप्नाउनु शुभदायक हुनेछ ।

सिंहः
साता पूर्णरुपमा अपेक्षित उपलब्धि तथा सफलता प्राप्त गर्न अल्लि गाह्रो छ रपनि हप्ताको मध्यतिर राम्रै अनुकूल गोचरग्रहको भूमिका देखिएको छ । शुरुमा केही दबाबपूर्ण स्थिति तथा अपयशको सामना गर्न परेपनि जीवन व्यवहाका कामकार्यहरूसामान्यतया ठिकै चल्ने छन् । केही मलिनताको बाबजुत स्वास्थ्यलगायतका स्थितिमा सुधार आउने छ । सामाजिक सेवाप्रद कार्यमा संलग्न हुनपाइने छ । धार्मिक कार्यमा मन लाग्ने छ । आध्यात्मिक चेतना अभिवृद्धि हुनेछ । मानसिक र शारीरिक रुपमा सुख, शान्ति अभिवृद्धि हुनेछ । मङ्गलवार मध्याह्नपछि मानसान र ईज्जत पदप्रतिष्ठा बढ्ने छ । ठूलाबडा व्यक्तिहरुसँग सम्बन्ध जोडिने र व्यवसायिक लाभ मिल्ने छ । विशेष महत्त्वपूर्ण कामलाई अगाडि बढाउन वा तत्सम्बन्धी कार्ययोजना बनाउनसकिने छ । राजनीति, सामाजसेवा जस्ता प्रतिनिधित्त्वदायी क्षेत्रमा सफलता एवं भूमिका थपिने छ । उद्योग व्यापार व्यवसाय एवं पेशागत क्षेत्रमा उन्नति प्रगति हुनेछ । साताको अन्त्यतिर भने धेरै मन तथा आसक्ति गरेको काममा अड्चन आउनसक्ने देखिएको छ । विशेष कामको हकमा ग्रह उपचार गरेर अघि बढ्नु उचित हुनेछ । सामान्यतया दैनिकी कामकार्यमा उन्नति प्रगति नै हुन गइ लाभ मिल्ने छ । यो साता सिंह राशिका व्यक्तिहरुले भगवान सूर्यनारायण, महावीर हनुमान, गुरुगणपति र भैरवदेवको स्तुति आराधाना उपाशना वा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले सूर्य, मङ्गल, शनि र केतु ग्रहको शान्तिका उपाय अवलम्बन गर्नु शुभकर हुनेछ ।

कन्याः
साताको मध्य भाग लाभप्रद देखिएको छ । रपनि विशेष कामकार्यमा अल्लि बढी मेहनत र ग्रह उपचारका उपाय अवलम्बन गर्नु मनासिव हुनेछ । शुरुका दिनमा स्वास्थ्यमा अल्लि प्रतिकूलता आउनसक्ने देखिएको छ । दीर्घरोगीलाई अल्लि बढी सास्ती हुनसक्ने छ । खानपान एवं औषधोपचारमा ध्यान दिनुपर्ला । कामकार्यमा पनि संघर्षको अनुभव हुनेछ । संपत्तिको खतिक्षति, शत्रु वृद्धिको संभावनालाई पनि नकार्न सकिन्न ख्याल गरेर जनव्यवहार गर्नुहोला । मङ्गलवार मध्याह्नबाट स्वास्थ्यलगायतका स्थितिमा सुधार आउने देखिएको छ । व्यवसायिक क्षेत्रमा प्रगति हुनेछ । पेशागत उन्नति भई लाभ पनि मिल्ने छ । धार्मिक आध्यात्मिक कार्यमा चेष्टा बढ्ने छ । केही अनपेक्षित लाभ एवं उपलब्धि र परिणाम पनि हात लाग्ने ग्रहगोचरको बल देखिएको छ । हिम्मत बढाएर अभिष्ट प्राप्तिको लागि जोड गर्नु उचित हुनेछ । मानसिक शान्ति मिल्ने छ । शुक्र र शनिवार कर्मक्षेत्र एवं उद्यम तथा जागिर आदिमा आशा अपेक्षा बढी हुने तर उपलब्धि कम कममात्रामा हुनेछ । तथापि आंशिक रुपमा व्यवसायिक लाभ एवं उपलब्धि मिल्ने छ । केहीहद्सम्म मान पदप्रतिष्ठा एवं इज्जत पनि बढ्ने छ । उच्च तहसँगको संपर्क जोडिए पनि विशेष उपलब्धि पाउन गाह्रो पर्ला । तत्काल उपलबिध नभए पनि स्वकर्मलाई महत्त्व दिएर कर्मशील हुनाले पछि परिणाम पाउनसकिने छ । यो साता कन्या राशिका व्यक्तिले भगवान सूर्यनारायण, भगवान लक्ष्मीनारायण, महावीर हनुमान एवं भैरवदेवको साथ गुरुगणपति र माँ बगलामुखीको स्तुति भक्ति उपाशना वा आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक विधिले सूर्य, मङ्गल, बुध, बृहस्पति, शनि एवं राहु केतुको शान्तिका उपाय अप्नाउनु शुभप्रद हुनेछ ।

तुलाः
साता अनपेक्षित अनुकूल देखिएको छ । सोँचेको आँटेको अलवा खासै सोँचविचार नभएको काम पनि बनेर आकस्मिक रुपमा लाभ एवं उपलब्धि मिल्ने छ । शुरुमा मनोरञ्जन तथा रङ्गरास एवं विलास बढ्ने छ । व्यापार एवं व्यवसायमा उन्नति भइ आर्थिक लाभ मिल्ने छ । गरेका कार्यहरुमा सफलता मिल्ने छ । दाम्पत्य तथा पारिवारिक सम्बन्धमा मिठास छाउने छ । अवस्था अनुसारको यात्रा तथा घुमफिर पनि हुनेछ । मङ्गलवार मध्याह्न पछि अल्लि स्वास्थ्यले साथ नदिनसक्ने देखिएको छ । खानपान र यात्रादिमा ख्याल पुर्याउन र संयमीत हुन जरुरी देखिन्छ । औषधोपचार खर्च बढ्नसक्ने छ । अगाडि बढीरहेको इष्ट कामकार्यमा रोकावट आउने र अपयश बढ्ने गोचरग्रह प्रभाव छ । केही यस्ता विपरित फलको बाबजुत अप्रत्यासित लाभ र उपलब्धि हुने पनि देखिएको छ । शुक्र र शनिवार स्वास्थ्य लगायतका स्थितिमा सुधार आउने छ । भाग्य एवं कामकार्यले साथ दिने छ । व्यवसाय, पेशा तथा कर्मक्षेत्रमा उन्नति प्रगति हुनेछ । धार्मिक आध्यात्मिक कार्य संपादन गर्न सकिने छ । सामाजिक एवं संस्थागत कामकार्यमा अवस्था अनुसारले सहभागी हुनपाइने छ । मुल्याङ्कन बढ्ने र मानप्रतिष्ठामा वृद्धि हुनेछ । यो साता तुला राशिका व्यक्तिहरुले भगवान लक्ष्मीनारायण, भैरवदेव र माँ इन्द्रायणीको दर्शन भक्ति आराधना साधना गर्नु वा आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक हिसाबले बुध, शुक्र र राहु ग्रहको शान्तिका उपायहरूअप्नाउनु हितप्रद हुनेछ ।

वृश्चिकः
साताको पहिलो भाग विशेष अनुकुल देखिएको छ । शुरुका दिनमा स्वास्थ्यमा आरोग्यता वृद्धि हुने देखिएको छ । शारीरिक बल एवं जाँगरले राम्रो साथ दिने छ भने मनमा हिम्मतको वृद्धि हुनेछ । प्रख्याति बढाउने पुरुषार्थ गर्नसकिने छ । विपक्षीलाई सम्झौतामा ल्याउन तथा आफ्नो पक्षमा झुकाउन सकिने छ । अड्केर रहेका कामकार्यलाई पूर्णता दिन सकिने छ । लक्ष्मी प्रसन्न हुनाले व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट उचित रुपमा आर्थिक लाभ गर्नसकिने छ । मङ्गलवार मध्याह्नबाट केही आक्रोश तथा शंकाआशंकाको बाबजुत दाम्पत्य एवं प्रेम सम्बन्धमा सुधार आउने छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । समय परिस्थिति अनुसारको यात्रा तथा घुमफिर हुनसक्ने छ । बैठक आदिमा संलग्नता जनाउन पाइने छ । जनसंपर्क बढ्उने छ । शुक्र र शनिवार समय केही विपरित देखिएको छ । विलासी आहार विहारको कारण स्वास्थ्यमा समस्या आउनसक्ने छ भने कामकार्यमा पनि बाधाविघ्नता आउने संभावना छ । दीर्घरोगीहरुलाई विमार बढ्नसक्ने भय छ । औषधि सेवन एवं खानपान आदिमा ध्यान दिनु उचित हुनेछ । यात्राादि र व्यवहारमा पनि सावधानी अप्नाउनु पर्ला । वृश्चिक राशि हुने व्यक्तिहरुले यो साता विघ्न विनाशक गुरुगणपति, महावीर हनुमान एवं भैरवदेवको स्तुति आराधना तथा उपाशना र गरीब दीनदुःखीहरुको लागि दानसहयोग गर्नु वा आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक तरिकाले मङ्गल, शनि, राहु एवं केतु ग्रहको शान्तिका उपायहरूअप्नाउनु शुभफलदायक हुनेछ ।

धनुः
साताको मध्य र अन्तिम खण्ड तसै अनुकूल देखिएको छ । शुरुका दिनमा अल्लि आत्मप्रशंसा तथा महत्त्वकांक्षा बढ्ने । बोली बाठो हुने मनोविज्ञानले अल्लि बढी सताउने देखिएको छ । रपनि द्वन्द तथा अपयशको बाबजुत आफ्नो पक्षमा केही उपलब्धि ल्याउन सकिने छ । बुद्धि विवेकले कामलिनु बुद्धिमानी हुनेछ । विद्यार्थीले प्रयत्न गरेरमात्रै ज्ञानलाभ गर्न सकिने छ । लेखक प्रवचकहरुलाई पनि तसै अनुकूल रहने छ । विद्वतताको ंसुदपयोग गर्नु होला । अर्काको चियोचर्चोमा भुल्दा आफ्नो इष्टकार्य अधुरो रहनसक्ने छ । मङ्गलवार मध्याह्नबाट केही अबरोधको बाबाजुत केही हद्सम्म पेशा एवं व्यवसाय तथा कामकार्यमा उन्नति प्रगति हुनेछ । शारीरिक शक्ति बढेर आउने छ । पराक्रम गर्नसकिने छ । समान्यतया व्यापार बढ्ने र वाणिज्य वृद्धि हुनेछ । स्वकर्मलाई बढी जोड दिनु उचित हुनेछ । शुक्र र शनिवार प्रेमसंबन्धमा सुधार आउने र माया बढ्ने छ । कसैकसैलाई कैफियत प्रेमको चक्रव्यूह पनि नपर्ला भन्न सकिन्न । समय स्थिति अनुसारको घुमफिर हुने समय पनि छ । चोट्पटक आदिको पनि खतरा देखिन्छ, यात्रा तथा जनव्यवहार तथा कार्य संपादन गर्दा ख्याल गर्नुहोला । यो साता धनु राशिका व्यक्तिहरुले भगवान महावीर हनुमान, भैरवदेव एवं गुरु गणपति र भगवान सूर्यनारायणको साथमा माँ बगलामुखीको स्तुति उपाशना गर्नु वा आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक हिसाबले सूर्य, मङ्गल, बृहस्पति, शनि एवं राहु र केतु ग्रहको शान्तिका उपायहरूअवलम्बन गर्नु हितकर हुनेछ ।

मकरः
साता मध्यम रहने देखिन्छ । शुरुका दिनमा मानसिक संकीर्णता बढ्ने छ । शारीरिक स्वास्थ्यले पनि त्यति साथ दिन नसक्ने गोचरग्रहले देखाइरहेको छ । पारिवारिक सहमति हुन पनि अल्लि कठिन पर्नेछ । कार्यक्षेत्रमा पनि असमझदारी एवं अवरोधको स्थितिको सामना गर्न पर्नसक्ने छ । विवादको सम्भावना देखिएकोले जनव्यवहार गर्दा सावधानी अप्नाउनु उचित हुनेछ । विशेष कार्यको संपादन गर्दा आमा वा आमा समानकी मातृशक्तिको आशीर्वाद लिएर अघि बढ्नु उचित हुनेछ । मङ्गलवार मध्याह्नबाट गोचरग्रहमा केह िसुधार आउने छ । मनोवैज्ञानिक रुपमा सम्मान तथा स्यावासीको आसक्ति बढ्नसक्ने कुरालाई नकार्न सकिन्न । विद्यार्थीले इष्टकार्यमा साविकभन्दा बढी जोड गर्नु पर्ला । पेशा तथा कामकार्य एवं नोकरी र उद्यम व्यवसायीहरुले केही हद्सम्म लाभ एवं उपलब्धि प्राप्त गर्नसकिने छ । वैचारिक प्रगति हुनेछ । विद्वतताको प्रस्तुति गर्ने अवसर मिल्ने छ । शुक्र र शनिवार सामान्यतया स्वास्थ्यमा आरोग्यलाभ हुनेछ । अबरोधको बाबजुत पराक्रम गर्नसकिने समय छ । सर्तलाई स्वीकार गरेर विपक्षिलाई सम्झौतामा ल्याउन सकिने छ । खेलकुद् आदि प्रतिस्पर्धामा पनि अगाडि बढ्नसकिने छ । पौरख एवं पुरुषार्थ बढ्ने छ । पेशा एवं कर्मक्षेत्रबाट केही लाभ तथा उन्नति हुनगइ आर्थिक वृद्धि हुनेछ ।
मकर राशिका व्यक्तिहरुको लागि यो साता भगवान सूर्यनारायण, भगवान लक्ष्मीनारायण, माँ बगलामुखी, भगवान महावीर हनुमान र माँ इन्द्रायणीको साथमा भैरवदेवको उपाशना वा आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक विधिले सूर्य, बुध, बृहस्पति, शुक्र र शनि एवं केतु ग्रहको शान्तिका उपाय अवलम्बन गर्नु शुभदायक हुनेछ ।

कुम्भः
साताको पहिलो र अन्तिम खण्ड फलकारक देखिएको छ । साताको शुरुमा शारीरिक बल, जोश, जाँगर एवं स्फुर्ति र हिम्मत बढ्ने छ । अड्किएर रहेको कामलाई अगाडि बढाउन सकिने छ । खेलकुद तथा शारीरिक प्रतिस्पर्धामा सफलता मिल्ने छ । पेशा तथा नोकरी एवं व्यापार व्यवसायबाट आर्थिक लाभ हुनेछ । थाति रहेका केही कामकार्यलाई पूर्णता दिन सकिने छ । दाजुभाइबीचको सम्बन्धमा सुधार आउने छ । साताको मध्यतिर कामकार्यमा हलो अड्किने सम्भावना छ । गरेको काममा पनि अपयश मिल्ने छ भने विरोधी सक्रिय हुने र षड्यन्त्र गर्नसक्ने छन् । स्वास्थ्यमा पनि मन्दि आउने छ । दीर्घरोगीलाई समस्या बल्झिने खतरा देखिन्छ । खानपान एवं औषधि सेवनमा ध्यान दिनु पर्ला भने जनव्यवहार आदिमा ख्याल पुर्याउनु बुद्धिमानी हुनेछ । वादविवादको संभावना रहेकोले अत्यावश्यकभन्दा बढी जनसरोकार नगरेको उचित हुनेछ । शुक्र र शनिवार पुनः अनुकूलता बढ्ने छ । समय र अवसरको सदुपयोग गर्नेहरुलाई बौद्धिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार प्राप्त हुनेछ । विद्यार्थीले अध्ययनमा प्रगति गर्नसकिने छ । सन्तानलाई आरोग्यलाभ मिल्ने छ । सन्तोष एवं सुख मिल्नेछ । सैद्धान्तिक पक्षमा कडारुपमा प्रस्तुत हुनसकिने छ । आकस्मिक रुपमा आर्थिक लाभ पनि हुनजाने छ । यो साता कुम्भ राशि हुने व्यक्तिहरुले भगवान गुरुगणपति, भगवान सूर्यनारायण, माँ इन्द्रायणी एवं भैरवदेवको आराधना उपाशना गर्नाले वा आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक हिसाबले सूर्य, मङ्गल, शुक्र र राहु ग्रहको शान्तिका उपायहरूअप्नाउनाले ग्रहजनित बाधाअड्चनलाई कम गर्न तथा शुभफललाई बढाउन मद्दत मिल्ने छ ।

मीनः
साताको मध्य र अन्तिम खण्ड अनुकूल देखिएको छ । शुरुका दिनमा स्वकार्यभन्दा परकार्यलाई महत्त्व दिन पुगिने छ । जसले इष्टकार्य पूरा हुन कठिन पर्नेछ । वाणीदोषको गोचरयोग छ । बोलीव्यवहारमा ध्यान दिनुहोला । तर, कार्यक्षेत्रलाई समय दिएमा व्यवसायिक तथा पेशागत उन्नति भइ आर्थिक लाभ हुनेछ । सामाजिक कार्यमा भूमिका दिन पाइने छ । कुटुम्बिक सम्बन्धमा ध्यान दिन जरुरी देखिन्छ । मङ्गलवार मध्याह्नपछि शारीरिक क्षमताको विकास हुनेछ । स्वास्थ्यले पनि साथ दिनेछ । जोशजाँगर बढ्ने छ । इष्ट कार्यलाई अडाडि बढाउन सकिने छ । प्रतिस्पर्धाजन्य काममा अग्रता मिल्ने छ । पेशागत प्रगति हुनगई आम्दानी पनि हुनेछ । भातृ संबन्धमा सुधार आउने छ । शुक्र र शनिवार केही संकिर्णता तथा पारिवारिक एवं सहकर्मीबीच असमझदारीको बाबजुत स्वकर्मशील कर्मयोगीको हकमा अप्रत्यासितरुपमा काम बनेर लाभ एवं उपलब्धि हात लाग्ने खालको समय रहेको छ । साथ सहयोग पनि जुट्ने छ । साथसंगती एवं खानपानको कारण स्वास्थ्यमा मन्दि भने आउनसक्ने छ ख्याल गर्नु होला । साथीभाइको लहैलहैमा लाग्दा अनर्थ पर्नसक्ने भय पनि छ विचार पुर्याउनु होला । यो साता मीन राशिका व्यक्तिहरुले भगवान लक्ष्मीनारायण, विघ्नविनाशक गुरुगणपति, महावीर हनुमान एवं भैरवदेवको साथमा माँ बगलामुखीको श्रद्धाभक्ति एवं उपाशना आराधना गर्नु वा मङ्गल, बुध, बृहस्पति, शनि एवं राहु र केतु ग्रहको शान्तिका उपायहरूअप्नाउनु शुभदायक हुनेछ ।

द्रष्टव्यः
राशिफलमा बताइएको फल समष्टिमा गोचर ग्रहको हिसाबमा आँकलन गरिएको हो। जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा अनुकूल ग्रह चलिरहेको छ उसलाई राशिफलमा बताइएको शुभ फल बढी मिल्ने र अशुभ फल कम घटित हुने हुन्छ। त्यस्तै जसको महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल दशा चलेको छ उसलाई राशिफलमा बताइएको अशुभ फल बढी घटित भइ शुभफल कम मिल्ने हुन्छ। यो कुरालाई मनन् गरेर राशिफलमा बताइएका फलको भाव बुझिदिनु होला। धन्यवाद।

यो महिनाको राशिफल