ललितपुर। ललितपुरको अल्का अस्पतालकी महिला कर्मचारीको हत्या आरोपमा उनकै भतिजा पक्राउ परेका छन्।
अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा प्रहरीले केसीकै भतिजा निर्मल केसीलाई पक्राउ गरेको हो।
केसीलाई ललितपुरको भैँसेपाटी क्षेत्रबाट शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्णराज ओझाले जानकारी दिए।
महिला कर्मचारी गीताको शव शनिबार ललितपुरको गोदावारी नगरपालिका–१० मूलडोलस्थित लेलेको जंगलमा भेटिएको थियो। प्रहरीले उनको हत्यामा संलग्न भएको आशंकामा भतिजा निर्मललाई पक्राउ गरी अनुसन्धान थालेको छ।
प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको देखिएको छ। अल्का अस्पतालकी ती कर्मचारी चार दिनदेखि बेपत्ता थिइन्।
उनको खोजी गरिदिन परिवारका सदस्यहरुले महानगरीय प्रहरी परिसर, ललितपुरमा निवेदन दिएका थिए।