सन्दीपले विकेट लिए पनि जमैका पराजित

काठमाडौँ। सन्दीप लामिछानेले विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उनी आवद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ।

ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो। टस जितेर जमैकाले ब्याटिङ राजेको थियो।

निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो। एक सय ६२ रनको विजयी लक्ष्य बार्बाडोसले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो। बार्बाडोसका लागि कप्तान जसन होल्डरले ६९ रन बनाए। यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्याटनरले अविजित रहँदै ३५ रनको योगदान दिए।

बलिङतर्फ जमैकाका लागि सन्दीप लामिछाने, ओशाने थोमस र प्रिस्टन मस्वीनले एक एक विकेट लिए। उित्कृष्ट बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा २६ रन खर्चिए। उनले बार्बाडोसका कप्तान जसन होल्डरको विकेट लिए।

अन्य सम्बन्धित समाचार:  साउदीका युवराजको आदेशमा पत्रकार खशोग्गीकाे हत्या

यसअघि ब्याटिङ गरेको जमैकाका लागि जेर्मेनी ब्ल्याकउडले सर्वाधिक ७४ रन बनाए। यसमा उनको चार छक्का र पाँच चौका सामेल थियो। यस्तै आन्द्रे रसेलले २८ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५४ रनको अर्धसतकीय पारी खेले। ग्लेन फिलिप्सले १७ रन बनाए।

बलिङतर्फ बार्बाडोसका जोसुवा बिशप, जेसन होल्डर, राशिद खान र हेडेन वाल्सले एक एक विकेट लिए। सन्दीप आवद्ध जमैकाले लिग चरणको अब एक मात्र खेल खेल्न बाँकी छ।

जमैका यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अंक तालिकाको चौथो स्थानमा रहेको जमैकाले अब सेमिफाइनल भने शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससित खेल्नुपर्ने छ।

प्रतियोगितामा सन्दीपले उत्कृष्ट बलिङ गर्दै आएका छन्। उनले हालसम्म नौ खेलमा ११ विकेट लिएका छन्।