कपनमा साढे १३ लाख रुपैयाँ लुट्ने ५ पक्राउ

काठमाडौं। काठमाडौँको कपनबाट साढे १३ लाख रुपैयाँ लुटेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा तथा सिन्धुपाल्चोक जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामा रहेका छन्।उनीहरुलाई अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले पक्राउ गरेको हो।

बिहीबार साँझ बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित आनीगुम्बा नजिकै सुन किन्न गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिएका हुन्।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नवीन कार्कीका अनुसार सुरुआतमा लुटेरा समूहले राईलाई सानो टुक्रा सक्कली सुन देखाएका थिए। त्यसपछि उनीहरुले राईलाई सुन किन्न कपन गुम्बानजिक बोलाएका थिए।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षले संसदीय दलको नेताबाट ओलीलाई हटायो

राई गुम्बानजिक पुग्नासाथ लुटेरारु रकमसहितको झोला खोसेर भागेका थिए। लुटेको रकमबाट उनीहरुले पल्सर मोटरसाइकल समेत किनेको पाइएको कार्कीले बताए। उक्त मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

उक्त समूहले यसअघि गोकर्णेश्वर–१ नयाँपाटीस्थित रुपा गुरुङको घरबाट चोरी गरेको ४ लाख ६३ हजार रुपैयाँसहित प्रहरीले लुटेराहरुको डेराबाट ८ लाख ७ हजार रुपैयाँ बरामद गरेको छ।

लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय सुजन विक भने फरार छन्।