भावना पाैडेल,डडेलधुरा। कञ्चनपुरको महाकाली नगरपालिकाका ७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ। दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका उच्च ज्वरो आएका ७ जना बिरामीको रगत जाँच गर्दा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य केन्द्रका डा. गगन चौधरीले बताए।
स्वास्थ्य केन्द्रले उच्च ज्वराेको गम्भीर बिरामी तथा प्रयोगशालामा रगत जाँच गरी उपचार गराइरहेका ११ बिरामीको रगत जाँच गरेकामध्ये ७ जना बिरामीमा स्क्रब टाइफस देखिएको उनले जानकारी दिए। स्वास्थ्य केन्द्रका डा. चौधरीका अनुसार उच्च ज्वरोका बिरामीको रगतको नमुना जाँच गर्दा शुक्रबार ३ जना र शनिबार ४ जनामा स्क्रब टाइफस देखिएको हो।
स्वास्थ्य केन्द्रमा हालसम्म उच्च ज्वरो भएका ४० जनाभन्दा बढी बिरामी उपचारका लागि पुगेका छन्। उच्च ज्वरोको समस्या लिएर उपचारका लागि पुगेकामध्ये ७ जनाको मृत्यु भइसकेको छ भने २६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
उच्च ज्वरोका कारण मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मी परिचालन गरी बिरामी र मृत्यु भएका बिरामीको आफन्तको रगतको नमुना संकलन गरेको थियो। त्यसको नतिजा आइसकेको छैन।