कास्की। गण्डकी प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। कन्ट्याक्ट ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा आज बिहान उनकाे रिपोर्ट पोजिटिभ आएको हो। नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीमा कोरोना उच्च जोखिम देखिएको छ।
एक महिनाअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा कोरोना देखिएको थियो भने उक्त गणबाट जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरीको रिपोर्ट पनि पोजिटिभ आएको थियो। त्यही गणमा प्रहरीसँगै खाना खाएका गण्डकी प्रदेशकै एक प्रदेशसभा सदस्यमा पनि कोराना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेका छन्।
आज ६७ कोरोना संक्रमित थपिए
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज थप ६७ जनामा कोरोना पुष्टि भएको छ। स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका सात, बागलुङका तीन र लमजुङका दुई जनामा पोजेटिभ देखिएको हो। याे सहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५१४ पुगेको छ । तीमध्ये एक हजार ७६६ जना निको भएका छन् । गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ।
यसैबीच गोरखा नगरपालिका –७ की ७६ वर्षीया महिलाको सघन उपचार कक्षमा उपचारका क्रममा शनिबार मृत्यु भएपछि आज कोरोना पुष्टि भएको छ।