हलिया मुक्ति घोषणा भएको १२ वर्ष पूरा: मुक्त हलियाका समस्या उस्तै

दिपक महरा, बैतडी। हलिया मुक्ति घोषणा भएको १२ वर्ष पूरा भएकाे छ। १२ वर्षअघि हलिया मुक्तिकाै घाेषणा भए पनि अहिलेसम्म हलियाहरुकाे पुनर्स्थापनाको काम भने पूरा हुन सकेको छैन। सरकारले मुक्त घोषणा गरेको १२ वर्ष बिते पनि मुक्त हलियाका समस्या अझै कहालीलाग्दा रहेका राष्ट्रिय हलिया मुक्ति महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष राजुराम भुलले बताए। उनले भने ‘हलिया मुक्त भइसकेपछि पनि उनीहरुका समस्या समाधान हुन सकेका छैनन्। अहिले पनि मुक्त हलियाहरु विभिन्न समस्या झेलिरहेका छन्।’

२०६५ साल भाद्र २१ गतेका दिन सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो। हलिया मुक्तिको घोषणा हुँदा सुदूरपश्चिम र साविकको मध्यपश्चिमका १९ हजार ९६५ जना हलिया परिवार खुसी भए पनि अहिले सम्म उनीहरुको पुनर्स्थापनाको काम सम्पन्न नहुँदा निराश छन्।

अन्य सम्बन्धित समाचार:  वाग्मती र प्रदेश-१ का विभिन्न ठाउँमा बत्ती जाने

अहिले पनि धेरै छुट मुक्त हलिया रहेका र उनीहरुले परिचय पत्र पाउन नसकेका भुलले बताए। अहिले सम्म १६ हजार ९५९ जनाले मुक्त हलिया प्रमाण पत्र पाएका छन्। बैतडीमा पनि मुक्त हलियाका उस्तै समस्या रहेको जिल्ला हलिया मुक्ति समाजका उपाध्यक्ष जयराम लुहारले बताए। उनले भने, ‘छुट मुक्त हलियाहरुका समस्या अझै पेचिला छन्। उनीहरुका मुद्दा सम्बोधन हुन सकेका छैनन्। छुट मुक्त हलियाहरुले परिचयपत्र पाउन सकेका छैनन्।’

बैतडीमा २ हजार २२ जना मुक्त हलिया भए पनि १ हजार ५४४ जनाले मात्रै परिचय पत्र पाएका छन्। परिचय पत्र पाएकाहरुले मात्रै सरकारी कार्यक्रमको लाभ लिएको भएपनि छुट मुक्त हलियाहरुले अहिले पनि समस्या झेल्नुपरेको महासंघका पूर्व अध्यक्ष भुलले बताए। उनले भने’ ‘सरकारले दिगो जीविकोपार्जनका कार्यक्रम ल्याउन नसक्दा मुक्त हलियाहरु अहिले समस्यामा छन्। मुक्त भएर मात्रै भएन उनीहरुलाई जिविकोपार्जनको आधार पनि चाहिन्छ ।’

अन्य सम्बन्धित समाचार:  बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

मुक्त भइसकेपछि पनि परिचयपत्र नपाउँदा समस्या भएको छुट मुक्त हलियाहरुले बताएका छन्। आफूहरुले परिचयपत्र नपाउँदा सरकारी कार्यक्रमको लाभ लिन नपाएको छुट मुक्त हलिया हिरा महरले बताए।