समूह चरणको अन्तिम खेलमा आज जमैकाले सेन्ट लुसिया जुक्सको सामना गर्ने

काठमाडाैं। सेमिफाइनल प्रवेश गरिसकेको जमैकाले आज राति सीपीएलको समूह चरणकाे अन्तिम खेल सेन्ट लुसिया जुक्ससँग खेल्दैछ। यो खेल औपचारिकताका लागि मात्र हुँदैछ किनभने दुवै टोली यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेका छन्। नेपाली समयअनुसार मध्य राति १२ बजे सुरु हुने उक्त खेलले अंक तालिकामा दोस्रो र तेस्रो भने छुट्याउनेछ।

जमैका चौथो र ट्रिनबागो नाइट राइडर्स पहिलो हुँदै सेमिफाइनल पुगेका छन् भने दोस्रो र तेस्रोको छिनोफानो आज हुने छ। जमैकाको यो सिजन राम्रो भएको छैन। ९ खेलमा ३ जित र एक बराबरी हात पार्दै ७ अंक बनाउँदै चौथो स्थानमा जमैका रहेको छ। उता सेन्ट लुसियाले भने ९ खेलमा ५ जित हात पार्दै १० अंक बनाएर तेस्रो स्थानमा रहेको छ।

अन्य सम्बन्धित समाचार:  इटालियन सिरी ‘ए’: एसी मिलानको शानदार जित

यी दुई टोलीबीचको पहिलो खेलमा जमैकाले ५ विकेटले जित हात पारेको थियो। सन्दीप लामिछानेले विकेट लिएको उक्त खेलमा आसिफ अलिले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। यी दुवै टोलीले आफ्नो पछिल्लो खेल गुमाएका थिए। जमैका बार्बाडोस ट्राइडेन्ट्ससँग ७ विकेटले पराजित भएको थियो। सेन्ट लुसियाले भने साविक बिजेता ट्रिनबागो नाइट राइडर्ससँग २३ रनले हारेको थियो।

दुवै टोलीले यो खेललाई सेमिफाइनलका लागि अभ्यास खेल सम्झेर राम्रो गर्न खोज्नेछन्।

यस्तै आज हुने पहिलो खेलमा साविक बिजेता ट्रिनबागो नाइट राइडर्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स खेल्दैछन्। ट्रिनबागोले ९ खेल खेलेर सबैमा जित निकाल्दै अर्को चरण पुगिसकेको छ भने सेन्ट किट्सले ९ मा मात्र १ जित्दै बाहिरिइसकेको छ। उक्त खेल नेपाली समय अनुसार बेलुकी पाैने ८ बजे सुरु हुनेछ ।