आईपीएलको खेल तालिका सार्वजनिक

काठमाडाैं। सेप्टेम्बर १९ बाट सुरु हुने आईपीएलको खेल तालिका सेप्टेम्बर ६ मा मात्र सार्वजनिक भएको छ। पछिल्लो सिजन आईपीएलको फाइनल खेल यस सिजनको पहिलो खेल रहेको छ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले फाइनलमा पराजित गरेको चेन्नाई सुपर किङ्ग्ससँग खेल्ने छ। नेपाली समय अनुसार ७ः४५ बजे बाट सुरु हुने पहिलो खेल अबु धाबीमा हुनेछ।

१० दिनसम्म प्रत्येक दिन २ खेल हुने आईपीएलको राउन्ड रोबिनमा हुने खेल तालिका मात्र सार्वजनिक गरिएको हाे। पहिलो चरणको खेल तालिका अनुसार अबुधाबीमा २० खेल, दुबईमा २४ र शारजाहमा १२ खेल हुने छ।

मुम्बई र चेन्नाई आईपीएलका दुई सबैभन्दा सफल टोली हुन् जसमा मुम्बईको नाममा ४ र चेन्नाईको नाममा ३ वटा ट्रफी रहेको छ। पछिल्लो फाइनलमा चेन्नाईलाई १ रनले हराएको मुम्बईले चेन्नाईलाई अहिलेसम्म सबैभन्दा बढी पटक हराएको छ। चेन्नाईले मुम्बईलाई ११ चोटी हराउँदा १७ खेल हारेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री कप महिला भलिबलमा आर्मी र एपीएफ तथा पुलिस र लुम्बिनी खेल्दै

यूएईमा हुन लागेको आईपीएलको तालिका निकै नै ढिलो सार्वजनिक हुनुमा धेरै कारण रहेका छन्। चेन्नाईका एक खेलाडीसहित एघार जनालाई कोरोना पोजिटिभ देखिएपछि पनि केही ढिलो भएको हो। त्यसमाथि पनि यूएईमा कोरोना संक्रमण बढ्दै गएका कारण दुई सहरमा जान पनि निकै कडाइ भएपछि पनि केही ढिलो भएको हो।

कोरोनाको कारण ढिलै भए पनि आईपीएल सुरु हुनु नै ठूलो कुरा रहेको छ। सेप्टेम्बर १९ बाट सुरु हुने लिगमा सबै टोली निकै बलिया छन् र यसपाली कसले बाजी मार्छ भनेर भन्न सकिने अवस्था छैन। अरु बेला राम्रो टोलीमा नगनिने सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स पनि निकै सशक्त टोलीका रुपमा देखा परेको छ।