एजेन्सी। घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिज एक खेल अगावै जितेको छ।
आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २–०ले जितेको हो।
साउथह्याम्पटनमा अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इंग्ल्यान्डले १८ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो। इंग्ल्यान्डका लागि जोस बट्लरले अविजित ७७ रनको अर्धशतकीय पारी खेले। डेविड मलानले ४२ र मोइन अलीले १३ रन बनाए।
अष्ट्रेलियाका लागि एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले १–१ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो। अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४०, मार्कस स्टोनिसले ३५, ग्लेन म्याक्सवेलले २६ तथा जोड्दा एस्टन अगरले २३ रनको योगदान दिएका थिए।
इंग्ल्यान्डका लागि क्रिस जोर्डनले २ विकेट लिए। जोफ्रा आर्चर, मार्क उड र आदिल राशिदले १–१ विकेट चटकाए।
पहिलो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको जित निकालेको थियो। अब अन्तिम खेल मंगलबार हुनेछ।