हरभजन सिंहले पनि यो वर्षकाे आईपीएलबाट हात झिके

एजेन्सी। हरभजन सिंह यो वर्ष आइपीएल नखेल्ने चेन्नइ सुपर किंग्सका दोस्रो  खेलाडी भएका छन्। अफस्पिन बलर हरभजनले आफू व्यक्तिगत कारणले गर्दा सेप्टेम्बर १९ बाट सुरु हुने भनिएको आइपीएलमा भाग लिन यूएई नजाने बताएका छन्।

यो निर्णयपछि हरभजन सिंह र सुरेश राइना दुई चर्चित खेलाडीहरुले यसपाली चेन्नइका लागि आईपीएल नखेल्ने पक्का भएको छ। एक खेलाडीसहित ११ जनामा कोरोना पुष्टि भएपछि एक हप्ताभन्दा बढी क्वारेन्टाइनमा बसेको चेन्नइको टोलीले हिजोबाट मात्र पहिलो अभ्यास सुरु गरेको थियो। हरभजनले आफ्नो ट्वीटमा आफूलाई टोलीले निकै सहयोग गरेको पनि बताएका छन्।

चेन्नइमा भारतीय खेलाडीका लागि अगस्टमा भएको शिविरमा पनि सिंह थिएनन्। उनी अगस्ट २१ मा बाँकी टोलीसँग दुबईमा गएका थिएनन् र सेप्टेम्बर १ मा आउने कुरा टोलीलाई बताएका थिए। सेप्टेम्बर पहिलो हप्तासम्म सिंह आइपुग्ने टोलीका प्रमुख कार्यकारी कासी विश्वनाथनले बताएको दिनमा नै बेलुका हरभजनले आईपीएल नखेल्ने घोषणा गरेका थिए।

अन्य सम्बन्धित समाचार:  इटालिएन सिरी ए: युभेन्टसको शानदार जित

खेलाडी र अरु ११ जनामा कोरोना देखिए पनि टोली आईपीएल खेल्न आतुर रहेको कुरा विश्वनाथले बताएका थिए।

पहिलो टाेलीका दुई अनुभवी खेलाडी नखेल्ने भएपछि चेन्नइ र चेन्नइका कप्तान महेन्द्र सिंह धोनीलाई केही दबाब पर्ने पक्का छ। सुरेश राइनाभन्दा पनि हरभजन जस्ता सिनियर स्पिनरको ठाउँमा अरु कोही राख्न टाेलीलाई गाह्रो हुने छ। १५० भन्दा बढी विकेट लिएका हरभजन आईपीएलमा तेस्रो सबैभन्दा विकेट लिने खेलाडी हुन्।

२०१८ मा मुम्बईले उनलाई रिटेन नगरेपछि चेन्नइले उनलाई लिएको थियो। त्यस सिजन लिग जित्न र २०१९ मा फाइनल पुर्या‍उन हरभजनको ठूलो योगदान रहेको थियो। रविन्द्र जडेजा, इम्रान ताहिर लगायत स्पिनर भए पनि अफस्पिनका लागि केदार जाधभ मात्र विकल्पका रुपमा रहेका छन्।