दिपक महरा, बैतडी। बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म ६७ हजारभन्दा बढीको पीसीआर परीक्षण रिएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट २०७६ साल फागुन १ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ६७ हजार १ सय ४२ जनाको परीक्षण गरिएको हो।
पछिल्लो समय परीक्षणको दायरा बढाउँदै लगिएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। समुदायस्तरबाटै कोरोनाको परीक्षण सुरु गरेकाले दायरा बढेको उनको दावी छ।
निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ६८ हजार १ सय ३६ जनाको स्वाब संकलन गरिएकोमा ९ सय ९४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ। सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरिएकामध्ये झण्डै ९ प्रतिशत अर्थात ६ हजार दुई सय ४४ जनामा कोरोना पुष्टि भएको छ।
संक्रमण पुष्टि भएका ५ हजार २ सयभन्दा बढी कोरोना निकाे भएका र १४ जनाको मृत्यु भएको छ।
सबैभन्दा बढी धनगढी प्रयोगशालामा ३५ हजार दुई जनाको परीक्षण गरिएको छ। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामा १६ हजार ३ सय १८, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ हजार ८ सय ९४ र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १ हजार ७ सय ४४ जनाको कोरोना परीक्षण भएको छ।