सप्तरीको दशगाजामा भारतीय नागरिकको कुटपिटबाट एक नेपालीको मृत्यु

शुभ नारायण यादव, सप्तरी। सप्तरीको दशगाजामा भारतीय नागरिकद्वारा एक हप्ताअघि कुटपिट गरिएका एक नेपाली नागरिकको आज मृत्यु भएको छ। भारतीयको कुटपिटबाट गम्भीर घाइते भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका वार्ड नम्बर–६ कटैया बस्ने ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डीएसपी तिलक भारतीले जानकारी दिए।

नेपाल–भारत सीमाको दशगाजा क्षेत्रमा नेपालीको धानबाली भैंसीलाई खुवाएको विषयमा भएको कुटपिटबाट घाइते उनको सोमबार मृत्यु भएको डीएसपी भारतीले बताए। घाइते यादवको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ।

खेतमा भैंसी चराएकाे विषयमा विवाद हुँदा घटनम भएकाे र प्रहरीले  घटनामा संलग्न भारत बिहारको मधुवनी जिल्ला लौकही प्रखण्ड ग्राम करयौतका १९ वर्षीय प्रदिपकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी भारतीले जानकारी दिएका छन्। उनका अनुसार मृतकको पोष्टमार्टम गरी शव गृहनगर ल्याउने तयारी भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  साइबर ब्यूरोको नाममा नक्कली फेसबुक पेज खेल्ने पक्राउ