मलेसियमा एक नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौँ। मलेसियाको उच्च अदालतले एक नेपाली नागरिकलाई मृत्युदण्ड दिने फैसला गरेको छ।

मलेसियाली नागरिकको हत्यामा दोषी ठहर गर्दै उच्च अदालतले धनुषाको गोविन्दपुरका ३६ वर्षीय सुरजदेव शाह तेलीलाई मृत्युदण्ड दिने फैसला सुनाएको हो।

तेलीले मलेसियाको कम्पुङमा ३४ वर्षीय मलेसियाली नागरिक आर हारिधासको उनको घरमा हत्या गरेको ठहर गर्दै उच्च अदालतले मृत्युदण्डको फैसला गरेको नेपाली दूतावासले जनाएको छ।

नेपाली दूतावासले तेलीको जीवन रक्षाको लागि त्यहाँको पुनरावेदन अदालतलमा पुनरावेदन गरेको छ। हारिधासको सन् २०१६ को डिसेम्बरमा हत्या भएको थियो।

तेली हारिधासकी श्रीमतीको प्रेमी भएको बताइएको छ। तेली सन् २००६ मा काम गर्न मलेसिया गएका थिए।

मलेसियामा यसअघि पनि विभिन्न मितिमा ६ नेपालीलाई मृत्युदण्डको फैसला सुनाइएको छ।

अन्य सम्बन्धित समाचार:  नेकपा नफुटेसम्म कुन समुहमा लाग्ने भन्ने टुंगो लाग्दैन: कांग्रेस