सुदूरपश्चिमका कोरोना संक्रमितमा ‘रेमडिसिविर’ औषधि प्रयोग

डडेल्धुरा।  सुदूरपश्चिम प्रदेशमा पहिलो पटक कोरोना संक्रमितमा रेमडिसिविर औषधि प्रयोग गर्न थालिएको छ। औषधि व्यवस्था विभागले कोरोना संक्रमितमा अध्ययन तथा अनुसन्धान प्रयोजनका लागि रेमडिसिविर नामक औषधि प्रयोगको अनुमति दिएपछि सुदूरपश्चिममा पनि पहिलो पटक प्रयोग गरिएको हो।

सेती प्रादेशिक अस्पतालका अनुसार अस्पतालमा उपचाररत प्लाज्मा दिइएकी धनगढीकी संक्रमितमा रेमडिसिविर औषधि पनि प्रयोग गर्न थालिएको हो।

कोरोना जटिल अवस्थामा पुगेकी धनगढीका संक्रमित महिलालाई आइतबार सेती प्रादेशिक अस्पतालले प्लाज्मा दिएको थियो। उनको उपचारमा संलग्न १ जना डाक्टरले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेशमै पहिलो पटक ति संक्रमित महिलामा रेमडिसिविर औषधि प्रयोग गरिएको हो।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको तर ७२ घण्टासम्म निगरानीमा राख्नुपर्ने ति डाक्टरले बताए। उनको अहिले प्रादेशिक अस्पतालको आईसियूमा उपचार भईरहेको छ। कोरोना संक्रमणबाट गम्भीर अवस्था पुगेका बिरामीको ज्यान बचाउन रेमडिसिविर औषधि प्रयोग गरिन्छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

यसले गम्भीर अवस्थामा रहेका बिरामीका स्वास्थ्यमा छिटो सुधार ल्याउने सहयोग गर्ने चिकित्सकहरुले बताएका छन। तर यो कोभिड–१९ लाई निको बनाउने औषधि भने होइन। अमेरिका, दक्षिण कोरिया र भारतमा यो औषधि प्रयोगको अनुमति दिइसकेको छ।