काठमाडौं। पूर्व पश्चिम रेलमार्गको काकडभिट्टा इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित गरिएको छ।
रेल, मेट्रो रेल र मोनो रेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो।
जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटर लामो रेलमार्ग बनाउन ५४ प्याकेजमा ठेक्का आह्वान गरेको थियो। ती सबै अब स्थगित भएका छन्।
रेल विभागले १८ कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ प्याकेजमध्ये कसलाई कुन ठेक्का दिनेसम्म तय गरेरै औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेको थियो।
जग्गा अधिग्रहण नगरी हतारमा ठेक्का लगाउन खोज्दा त्यसको विरोध हुँदै आएको थियो। रेलमार्गबाट प्रभावित क्षेत्रका बासिन्दा लामो समयदेखि आन्दोलनमा थिए।
कही दिन अघि काँग्रेसका नेता रामचन्द्र पौडेलले आर्थिक अनियमितता भएको भन्दै उक्त ठेक्का स्थगित गर्न माग गरेका थिए।
यस्तै झापाबाट सांसद रहेका राप्रपाका युवा नेता राजेन्द्र लिङ्देनले पनि रेलको ठेक्कामा खुलेआम भ्रष्टाचार भएको भन्दै विरोध गरेका थिए।