एउटाको शव अर्कैले जलाई दिएपछि……….

बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका–९ मा भदौ १७ गते गएको बाढीले आधा दर्जन गाउँ बगरमा परिणत भए। बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन्।

हालसम्म फेला परेका शवमध्ये १५ जनाको मात्र सनाखत भएको छ। बाढी प्रभावित क्षेत्रमा १८ गते बिहानैदेखि खोज तथा उद्धारको काम हालसम्म भइरहेको छ।

तर बाढीको वितण्डा यतिसम्म देखियो कि मृतावस्थामा भेटिएका शव क्षतविक्षत अवस्थामा भेटिए। फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको शवसमेत जलाउन पाएनन्। शव पहिचान गर्न नसक्दा एउटाको शव अर्कैले जलाइदिए।

जीवनभर आफ्नो सन्तानको माया नहुने बाबुआमा सायदै होलान्। आफूलाई बुढेसकालमा हेरविचार गरुन् भन्ने सोच्छन् र त्यो जिम्मेवारी पनि हुन्छ। तर विधिको विडम्बना आफ्ना जवान छोरासहित परिवारका चार सदस्यसम्म बाढीको विपत्मा सदाका लागि गुमाएका छन्।

यो त दुःखान्त पीडाको खबर थियो नै। यसमा अझ पीडा त बाढीमा बेपत्ता भएर ज्यान गुमाएका आफ्नो दिवङ्गत छोराको शव अर्कैले जलाउँदा भएको छ। यो थाहा पाएपछि परिवारलाई कति पीडा भएको होला।

बेपत्ता भएको आफ्नो छोरालाई अर्कैले जलाउँदा बाबुआमाको मन कति दुखेको होला। हामी केवल अनुमान मात्रै गर्न सक्छौँ। ढोरपाटनको बाढीमा बेपत्ता भएका आफ्नो २२ वर्षीय छोरा नारायण विकको शव घट्टबोटका बेपत्ता ३१ वर्षीय प्रेम पुनको शव भन्दै प्रहरीले आफन्तको जिम्मा लगायो।

अन्य सम्बन्धित समाचार:  सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति

आफन्तले पनि नारायणको शव प्रेमको ठानेर १९ गते फेला परेर सोही दिन बुर्तिवाङघाटमा जलाए। प्रेमका आफन्तले अर्कैको शव जलाएर आएको भोलिपल्ट बिहान पुनः उनको सग्लो शव फेला पारेपछि २० गते फेरी पुनको शव बुर्तिवाङघाटमै जलाइयो।

तर नारायणका परिवारले आफ्नो छोराको शव भेटिँदासमेत दाहसंस्कार गर्न पाएनन्। भदौ १९ गते जलाइसकेको शव आफ्नो छोरा भएको २० गते प्रेमको परिवारले दोस्रो दाहसंस्कार गरेपछि मात्रै आफूले थाहा पाएको नारायणका बुबा तुलबहादुर विकले बताए।

प्रहरीले थाहै नदिई छोराको शव अर्कैको भनेर बुझाइसकेर दाहसंस्कार गरिएको तुलबहादुरले बताए। प्रेम पुनको शव भनेर जलाएको भोलिपल्ट उनको छोरोको शव फेला पारेको हो। आफ्नो छोरा नारायण र प्रेमको शरीर र उमेर मिल्दोजुल्दो भएका कारण प्रहरीले झुक्किएर प्रेमको आफन्तलाई जिम्मा लगाएको उनको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  बाबुरामको ट्विटमा रिप्लाइ गर्दैै कमल थापाले भनेः तपाईंलाई नै प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव हो

भदौ १९ गते फेला परेको शव एकपटक हेर्न पाएको भए चिन्ने अवस्था रहे पनि आफूलाई खबर नै नगरेको उनको भनाइ छ। दुई पटकसम्म दाहसंस्कार गर्न पर्‍यो। एउटाको छोरालाई अर्कैले जलाइदिए। कोहीले दाहसंस्कार समेत गर्न पाएनन्।

तुलबहादुरका छोरा नारायणसहित बुहारी, नातिनी र छोरीलाई समेत बाढीले बगाएर बेपत्ता बनाएको छ। तीन जनाको अवस्था अझै अज्ञात छ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार फेला परेको शव क्षतविक्षत भएकाले पहिचनामा समस्या भएको हो। भदौ १९ गते फेला परेको शव ३१ वर्षीय प्रेम पुनको भएको पुनका आफन्तले भनेपछि माज्ञ दाहसंस्कार गर्नका लागि बुझाएको भण्डारीले बताए।

त्यसको भोलिपल्ट प्रेम पुनको सग्लो शव फेला परेको हो। सोमबार मात्रै नारायणका बुबा तुलबहादुरले ल्याएको तस्वीरका आधारमा १९ गते प्रेम पुन भनेर जलाइएको शव नारायणको भएको सनाखत भएको हो।

फेला पर्ने अधिकांश शवको ढुङ्गाले थिचेको जस्तो हातखुट्टा चुँडिएका र अनुहार नचिनिने भएका कारण समस्या भएको प्रहरीको भनाइ छ। ‍