काठमाडौं। साउदी अरेबियाको रियादमा नेपाली कामदारहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका छन्।
उनीहरुले प्रधानमन्त्री ओलीलाई देश छोड् भन्दै गालीसमेत गरे। यसरी ओलीलाई गाली गर्नेहरु साउदी अरबमा काम गुमाएहरु हुन्। उनीहरु त्यहाँको कम्पनीमा काम गुमाएपछि लामो समयदेखि बेरोजगार बनेका छन्।
घर फर्कन खोजे पनि जहाजको कुनै टुंगो छैन। नेपाल सरकारले आफुहरुको पीडा नबुझेको झोकमा उनीहरुले ओली विरुद्ध नाराबाजी गरेका हुन्।
कामदारहरुले सडकमै प्रदर्शन गरे। साउदी अरबस्थित नेपाली दूतावासले पनि आफूहरुको समस्या नबुझेर कानमा तेल हालेर सुतेको नेपाली कामदारहरुको आरोप छ।
मंगलबार नेपाल उड्ने मिति तय भएको थियो। तर दिनभर कुर्दा पनि जहाजको टुंगो लागेन। त्यसपछि नेपाली कामदारहरुले नेपाली दूतावास खारेज गर भन्दै नाराबाजी गरे।
नेपालीहरु अहिले साउदी अरबको विभन्नि ठाउँमा काम नपाएर अलपत्र छन्। उनीहरु सात महिनादेखि नेपाल फर्किन सकेका छैनन्।
ओली सरकारले घर फर्किने व्यवस्था गर्न आश्वासन दिए पनि आफूहरुलाई धोका दिएको उनीहरुको आरोप छ। चार्टर्ड उडानको संख्या थोरै भएका कारण विदेशमा अलपत्र नेपालीलाई सरकारले सहजै समयामा घर फर्काउन सकिरहेको छैन।
अहिले साउदी अरबलगायत विभिन्न देशमा नेपालीहरु अलपत्र छन्। उनीहरुले एकातर्फ भएको रोजगार गुमाएका छन् भने अर्कोतर्फ समयमै आफ्नो देश फर्किन नपाउँदा भोकभोकै बस्नु परिरहेको छ। तर यस विषयमा ओली सरकारले कुनै ठोस कदम चाल्न सकिरहेको छैन।