बैतडीमा किशोरी बलात्कारका आरोपित शिक्षकसहित ३ पक्राउ

बैतडी। बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले मंगलबार तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरा रहेका छन्। उनीहरुले किशोरीलाई पटक पटक बलात्कार गरेको आरोप छ।

आरोपित सबैलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानूनी कारवाही हुने प्रावधान छ।

कानूनअनुसार यस्तो अवस्थामा १० देखि १२ वर्षसम्म कैद सजाय हुने हुन्छ। बलात्कृत किशोरीको प्रहरीले उद्धार गरेको छ।

किशोरीलाई विद्यालयमै पढाउने शिक्षक र अहिले गाउँपालिकामा कार्यरत कर्मचारीले पटक पटक बलात्कार गरेको आरोप लागेपछि उनीहरुलाई पक्राउ गरिएको हो।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

बिहे गरेको ६ महिनामै किशोरीले बच्चा जन्माएपछि बलात्कारको घटना बाहिर आएको हो। किशोरी र उनका श्रीमानलाई प्रहरीले सदरमुकाम ल्याएको छ।