जमैका सेमिफाइनलबाटै बाहिरियो, सन्दीप विकेट बिहीन

काठमाडौँ। अन्ततः पुरानै गल्ती दोहर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ।

जमैकाले विगतका खेलहरुमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो ।

नाइट राइडर्स सीपीएलको उपाधिको हकदार टोली हो। उसले जमैकासितको खेलमा पनि त्यही कुरालाई सिद्ध गर्यो। समूह चरणका १० वटै खेल जितेर शीर्ष स्थान बनाएको नाइट राइडर्सको खेल जित्ने आधार ब्याटिङ हो।

तर जमैकासितको सेमिफाइनलमा नाइट राइडर्सले बलिङ पनि उत्तिक्कै राम्रो गर्यो। टस जितेपछि नाइट राइडर्सले फिल्डिङ रोज्यो। जमैका खाता नै खोल्न नपाउँदै विकेट गुमाउन पुग्यो। जेर्मिन ब्ल्याकउडलाई नाइट राइडर्सका अकिल हुसैनले बोल्ड गरे।

जमैकाले २ रन जोड्दा उसका भरपर्दा खेलाडी ग्लेन फिलिप्सलाई खेइरे पियरेले अलि खानद्वारा क्याच आउट गराए। जमैकाको विकेट पतनको क्रम यत्तिमा रोकिएन। टोलीको स्कोर १० रन छँदा उसले तेस्रो विकेट गुमायो।

मुजिबउर रहमान रन नै नबनाइकन पवेलियन फर्किए। उनलाई अकिल हुसैनले डवाने ब्राभोको हातबाट क्याच आउट गराए। जमैकाले पाँचौँ ओभरमा चौथो विकेट गुमायो। नाइट राइसर्डका अकिल हुसैनले नै व्यक्तिगत दोस्रो विकेट लिँदै आसिफ अलीलाई ४ रनमै केरोन पोलार्डको हातबाट क्याच आउट गराए।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ मेयर कप: काठमाडौँ मेयर्स ११ र एपिएफ विजयी

जमैकाका लागि नकु्रम बोनरले पारी सम्हाल्ने प्रयास गरे। उनले ४२ बल खेल्दै पाँच चौकाको मद्दतमा सर्वाधिक ४१ रनको योगदान दिए। जमैकाको स्कोर ६३ रन छँदा उनी आउट भए। लगत्तै भरपर्दा खेलाडी आन्द्रे रसेल पनि पवेलियन फर्किए। उनले ५ बल खेल्दै मात्र दुई रन बनाए।

रसेललाई सुनिल नराइनेले डवाने ब्राभोको हातबाट क्याच आउट गराए। त्यसपछि केही बेर जमैकाको पारी कप्तान रोभमन पावेलले सम्हाले। उनले एक छक्का र एक चौकाको मद्दतमा ३५ बलमा ३३ रन बनाए। उनलाई खेइरे पियरेले जमैकाको स्कोर ९३ रन छँदा पवेलियन फर्काए।

जमैकाले १०७ रनमा सवै विकेट गुमायो। बलिङतर्फ नाइट राइडर्सका लागि अकिल हुसैनले तीन, खेइरे पियरेले दुई तथा सुनिल नराइने र फवार्ड अहमदले एक एक विकेट लिए।

एक सय आठ रनको झिनो स्कोर पछ्याउने क्रममा नाइट राइसर्डले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। उसका लागि लेन्डले सिमोन्सले अविजित ५४ तथा टिवन वेवस्टारले अविजित ४४ रनको पारी खेले।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

जमैकाका बलरहरु नाइट राइसर्डका खेलाडीका अगाडी निरिह सावित भए। सीपीएलमा उत्कृष्ट लयमा रहेका जमैकाका मुजिबउर रहमानले मात्र एक विकेट लिए। उनले सुनिल नराइनेको विकेट लिए। योसँगै रहमान प्रतियोगितामा सर्वाधिक १८ विकेट लिने खेलाडी बनेका छन्।

सन्दीप विकेट बिहीन

प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै आएका लेग स्पिनर सन्दीप लामिछाने भने नाइट राइसर्डसितको खेलमा विकेट लिनबाट चुके। उनले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए।

वाइड बल फालेका उनको बलमा नाइट राइडर्सका खेलाडीले एक छक्का तथा दुई चौका समेत हाने। प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा उनी पाँचौँ स्थानमा रहे।

नाइट राइडर्ससितको सेमिफाइनल खेल खुल्नु अघि सन्दीप सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा थिए। यसअघि सन्दीपले समूह चरणका १० खेलमा १२ विकेट लिएका थिए।

उनी सीपीएलकै सबैभन्दा किफायती बलर हुन्। सन्दीपले समूह चरणका तीन खेलमा दुई दुई विकेट तथा ६ खेलमा एक एक विकेट लिएका थिए। उनलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो।

सीपीएलपछि अब उनको यात्रा इन्डियन प्रिमियर लिग (आइपीएल)तर्फ मोडिएको छ।