अन्तिम टी २० क्रिकेटमा अष्ट्रेलिया विजयी

एजेन्सी। इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टी २० क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ।

मंगलबार राति साउथह्याम्पटनमा भएको खेलमा अष्ट्रेलियाले घरेलु टोली इंग्ल्याण्डलाई ५ विकेटले हराएको हो।

यसअघिका दुई खेलमा इंग्ल्याण्ड लगातार विजयी भएको थियो। उसले सिरिज माथि पहिल्यै कब्जा जमाइसकेको छ।

इंग्ल्याण्डले दिएको १४६ रनको लक्ष्य अष्ट्रेलियाले १९ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। अष्ट्रेलियाका लागि मिचेल मार्शले अविजित ३९, कप्तान आरोन फिन्चले ३९ तथा मार्कुस स्टोइनिसले २६ रन बनाए।

इंग्ल्याण्डका लागि एदिल रसिदले ३ विकेट लिए। यसअघि पहिला ब्याटिङ गर्दै इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। इंग्ल्याण्डका लागि जोनी बेयर्‍स्टोवले सर्वाधिक ५५ रन बनाए। जोए डेन्लीले अविजित २९ रन बनाए।

अन्य सम्बन्धित समाचार:  म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

अष्ट्रेलियाका लागि एडम जाम्पाले २ तथा मिचेल स्टार्क, जोस हाजेलउड, केन रिचर्डनसन र अस्टन एगरले एक एक विकेट लिए।