रोजगारीका लागि पुनः भारत फर्किँदै नेपाली युवा

इन्दु धामी, कञ्चनपुर। कोरोना संक्रमणपछि भारतका विभिन्न सहरबाट स्वदेश फर्केका युवाहरु पुन: रोजगारीका लागि भारत जाने क्रम बढेको छ। स्वेदशमै रोजगारीको अवसर नभएपछि सुदूरपश्चिमका युवा कञ्चनपुरको गौरीफन्टा र कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत तर्फ जान थालेका छन्।

दार्चुलाका हर्क सिंह महरा लकडाउन लगत्तै नेपाल फर्केका थिए। घरमै बसेर परिवार पाल्न समस्या भएपछि उनी फेरि भारत जाँदै छन्। बुधबार पश्चिमी नाका गड्डाचौकीमा भेटिएका महराले भने, ‘कोरोनाको महामारी फैलिएपछि स्वदेश फर्केको हुँ, जीविकोपार्जनको कुनै उपाय नभएपछि रोजगारीका लागि बम्बै जाँदै छु।’

यस्तै कञ्चनपुरको बेदकोट सुरेन्द्र चुनारा कोरोनाका कारण परिवार पाल्न गाह्राे भएपछि सपरिवार बुधबार नै भारत फर्किएका छन्। भारतको दिल्लीस्थित पाण्डवनगरमा आफ्नै व्यवसाय गरेर गुजारा गर्ने उनी स्थानीय स्तरमा रोजगारीको अवसर नपाएपछि भारत जान लागेका हुन्।

 ‘भारतमा आफ्नै सामान्य किसिमको व्यवसाय छ, यता बसेर पनि काम छैन,’ उनले भने, ‘अवस्था सामान्य भएपछि उतै काम गर्छौं।’

अन्य सम्बन्धित समाचार:  बास्तोला मृत्यु प्रकरणः थप एकजनालाई थुनामा राख्ने आदेश

यस्तै डडेल्धुराको पशुरामनगरपालिका–६ का मीनबहादुर गुरुधामीकाे परिवार गएकाे सोमबार गौरिफन्टा नाका हुदै भारत पसेको छ। ‘सरकारले केही काम त दिने आशाले ५ महीनासम्म प्रतीक्षा गर्यौं‍,’ उनले भने, ‘तर समस्याको सुनुवाइ नहुने देखेपछि पेट पाल्नकै लागि भारत जान बाध्य भयौं।’

विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै, महँगो भाडा तिरेरै भए पनि युवाहरू नाकासम्म पुगिरहेका छन्। कोरोना संक्रमण रोकथामका लागि लकडाउन गरे पनि यस बाहेक अन्य कुनै किसिमका आर्थिक पहल नहुँदा गरिब मजदूरहरु कामको खोजीमा भारत जान लागेका हुन्।

एक सातायता गड्डाचौकी र गौरिफन्टामा भारत जाने नेपालीको लर्को बढेकाे गड्डाचौकी नाकाको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक रामबहादुर बमले बताए । उनका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्ला, प्रदेश ४ का बाँके, बर्दिया र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र पहाडी जिल्लाबाट कामको खोजीमा दिनहुँ ६०-७० जना भारत पसिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  दोभान बजार आगलागीः पीडितको ज्ञापनपत्र गृहमन्त्रीलाई

‘गड्डाचौकी नाका भएर बिहीबार मात्र ६१ जना युवा भारत गएका छन्,’ उनले भने, ‘अहिले भारतबाट भित्रिनेभन्दा पनि नेपालकाट उता जानेको संख्या बढेको छ।’

यता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार पछिल्लो एक सातामा मात्रै १ हजार ११८ जना गौरीफन्टा नाका र ३५० जना नेपाली गड्डाचौकी नाका भएर भारत पसिसकेका छन्।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल सरकारले भारतबाट फर्किएका युवा जनशक्तिलाई स्वदेशमै रोजगार बनाउने किसिमले सम्बोधन गर्न नसकेको बताउँछन्। उनका अनुसार तीनै तहका सरकारले उपलब्ध स्रोतको व्यवस्थापनगरी रोजगारी सृजना गर्न नसक्दा हजारौं युवा फेरि विदेशिन बाध्य भएका हुन्।

‘कोरोना संक्रमणपछि ठूलो जनशक्ति स्वदेश भित्रिएको थियो, तर सरकारले सिप तथा रोजगारमूलक कार्यक्रम ल्याउन सकेन’, मल्लले भने, ‘सरकारका लागि युवा परिचालन गर्ने अवसर थियो । त्यसका लागि योजना तथा रणनीति नबन्दा युवा जनशक्ति पुनः बाहिरिनुपर्ने अवस्था आयो।’