कञ्चनपुर र अछामका छुट्टा छुट्टै घटनामा संलग्न ४ जना पक्राउ

भावना पाैडेल, डडेलधुरा। कञ्चनपुरमा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार भएको घटनाको अनुसन्धानमा लापर्वाही गरेको भन्दै एक प्रहरी जवानलाई पक्राउ गरी कारबाही अगाडि बढाइएकाे छ।

ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई घटनामा लापरबाही गरेको भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश सिंहले बताए। उनलाई घटना सामसुम पारेर आरोपितलाई उम्काउन मिलेमतो गरेको आरोप लागेको छ। १४ भदौदेखि बेपत्ता किशोरी ५ दिनपछि बेल्डाडीकै आरा मिलनजिक प्रहरीले फेला पारेको थियो।

स्थानीय मनमोहन सिंह साउदलगायत ५-६ जनाले ५ दिनसम्म बन्धक बनाएर लागुऔषध सेवन गराउँदै बलात्कार गरेको भनी बालिकाले प्रहरी कार्यालय बेल्डाडीमा उजुरी गरेकी थिइन्। सामूहिक बलात्कारको उजुरीपछि बेल्डाडीकै साउद पक्राउ परेका छन्। घटनामा संग्लग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाक्षेत्रीले बताए।

हत्यामा संलग्न थप ३ जना पक्राउ

त्यसैगरी अछाममा प्रहरीले हत्यामा संलग्न थप ३ जनालाई पक्राउ गरेको छ। मंगलसेन नगरपालिका –१४ कालागाउँका मानबहादुर भण्डारीका २४ वर्षिय छोरा सन्तोष भण्डारीको हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बानेश्वर वृतकी प्रहरी हवल्दार ११ लाख घुससहित प्रकाउ

पक्राउ पर्नेमा जिल्लाको कमलबजार नगरपालिका – ६ को हात्तीबाजका २३ वर्षीय भुपेन्द्र शाही, कालापोखराका १८ वर्षीय मिनबहादुर शाही र दैलेखको आठबिस नगरपालिका वडा नंम्बर २ श्रीकोटका २० वर्षीय राम शाही रहेका छन्।

प्रहरीले यअअघि भण्डारीको हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो। युवाहरुको समुहले भण्डारीलाई खानडाँडा भन्ने स्थानमा आक्रमण गरि घाइते बनाएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको थियो। पक्राउ परेका ९ जनालाई नै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।