काठमाडाैं। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकालेको साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो।
सोमबार १०ः०५ देखि १०ः२० बजेसम्म लोकेश्वरलाई रथबाट भिक्ने शुभसाइत रहेको दैवज्ञ कीर्तिकिरणले बताए। उनले भने, “यदि यस समयमा करुणामयलाई रथबाट झिक्न सकिएन भने साङ्केतिकरूपमा हल्लाउने मात्रै भए पनि काम हुनेछ, हाल मच्छिन्द्रनाथलाई उतरपट्टि अर्थात् कुपण्डोलतर्फ फर्काएर राखिएकाले बुङ्मती लग्ने दिन १५ देखि २० पाइला पुनः उत्तरतर्फ लगेर अनि मात्र पुल्चोक हुँदै जावलाखेलको बाटो बुङ्मती लानु राम्रो हुनेछ।” सो दिन लोकेश्वरको सामान्य पूजाआजा गरेर त्यसपछि बुङ्मती लगिने उनले जानकारी दिए।
सोमबार भगवान्लाई रथबाट झिक्नुभन्दा पहिले चार दिनअघिदेखि चोखोनितो गरेर बसेका आठ पानेजुले किस्ली अर्थात् माटोको पालामा राखेको अक्षता, केही पैसाका डबल र सुपारी करुणामयलाई चढाएर त्यसपछि पालैपालो ढोगेर ‘हामीले यहाँबाट हजुरलाई आज बुङ्मती प्रस्थान गराउन लाग्यौँ’ भन्नुपर्ने चलन रहेको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए। उनले भने, “गुरुज्यूको पल्टन र सुरक्षाकर्मीसहित पानेजुले खटमा बोकेर मच्छिन्द्रनाथलाई बुङ्मती लानेछन्।”
यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझै गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नभएकाले बुङ्मतीको हयंग्रीव भैरव र वृष्टिदेवलाई पानेजुहरुले यही भदौ १८ गते नै क्षमापूजा गरिसकेको शाक्यले जानकारी गराए।
यसैगरी मीननाथको रथ भने गाःबहालबाट टङ्गालसम्म तानेरै लग्ने चलन रहेको १९औँ जातीय खलःपुचःका संयोजक चन्द्र महर्जनले बताए। आर्यावलोकितेश्वरलाई भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथयात्रा र गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा बिराजमान गराइएको थियो।
विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए। मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो।