सुदूरपश्चिममा थप २३ जनामा कोरोना पुष्टि

भावना पाैडेल, डडेलधुरा। सुदूरपश्चिममा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ७ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका १४ जना, गोदावरी नगरपालिकाका ४ जना र बाजुराको बडिमालिका नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हाे।

त्यस्तै डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा आज गरिएको परीक्षणमा दार्चुला र बझाङका ४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए। उनका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका १ जना, र छब्बिसपाथाभेरा गाउँपालिकाका १ जना तथा दार्चुलाको ब्यास गाउँपालिकाका १ र महाकाली नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय २७ जनाको कोरोना परीक्षण गरिएको छ। डोटी प्रयोगशालामा भने आज परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ३ सय १८ पुगेको छ। तीमध्ये ५ हजार ३ जनाले कोरोना जितेका छन भने १४ जनाको मृत्यु भइसकेको छ।