धनुषा। सन्तानको दीर्घायु एवम् परिवारको कल्याणका लागि मिथिलाञ्चलमा आज विधिवत् रुपमा जितिया पर्व शुरु भएको छ। यस पर्वका अवसरमा आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु माताहरु नदी, तलाउ वा पोखरीमा पुगेर स्नान गरी सूर्यदेवलाई जलार्पण गरेर पर्वको सङ्कल्प गर्छन्।
घिरौंँलाका पातमा पिना, चिउरा र दही राखेर जिमूतवाहन देवतालाई अर्पण गरी पर्वको शुभारम्भ गरिएको हो। आजकै दिन व्रतालुहरु कोदाको रोटी र माछा खाने गर्छन्।कोरोनाको कारणले पोखरीहरुमा विगत वर्षहरुका तुलनामा नुहाउनेको सङ्ख्यामा कमी आएको भए पनि पर्व मनाउने माताहरुमा उत्साहमा कुनै कमी आएको छैन।
अष्टमी तिथिको आगमनसँगै निराहार व्रतको शुभारम्भ हुन्छ। अष्टमीको आगमन हुनुअघि बिहानका समयमा व्रतालुहरु अन्न र फलफूल ग्रहण गर्छन् जसलाई ‘ओठघन’ भनिन्छ। यसपल्ट तिथिका समयमा हेरफेर भएकाले व्रतालुले ओठघन गर्न पाएका छैनन्।
आज बुधरात राति १०ः३० बजेपछि अष्टमी तिथिको आगमन हुनासाथ व्रत शुरु भएको मान्नुपर्छ। सोही कारणले बिहीबार बिहान ओठघन गर्न नियमले नपाइने पण्डित विमल झाले बताए।
जितिया पर्वमा आउँदो आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालुहरु स्नान गरी चोखो हुन्छन्। अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु हुन्छ। नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर पर्व समापन हुन्छ। तिथिका समयमा हेरफेर भएकाले व्रतालु यसपल्ट ३३ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ। उपवासका अवधिमा थुक पनि निल्न नहुने मान्यता छ।
पितृ पक्षमा मनाइने गरिएकाले मैथिल ब्राह्मणी व्रतालुले आआफ्ना दिवङ्गत सासू र आमाको मोक्षका लागि सप्तमी तिथिमै अन्य गोत्रकी ब्राह्मणीलाई निम्तो दिएर अनिवार्य रुपमा भोजन गराउने नियम छ। भोजन गर्ने महिलालाई ‘पितराइन’ भन्ने गरिन्छ।
कठोर व्रत
सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दीर्घायुका लागि माता जिर्मूतवाहन देवताको कठोर उपवास गर्ने गरिएको हो। भविष्य पुराणमा आराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन व्रत वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुँदैन भनी राखेको जिज्ञासामा महादेवले जिर्मूतवाहनको नियम निष्ठाका साथ व्रत बस्न भनेको उल्लेख गरिएको छ।
यसका लागि कुशको जिर्मूतवाहनको मूर्ति बनाएर कलशमा स्थापना गर्नुपर्छ। आफ्नै आँगनमा सानो पोखरीको आकृति निर्माण गरेर सोको डिलमा पाकरी रुखको हाँगा गाडी सो हाँगामा चिल र पोथी स्यालको आकृति बनाएर विधिपूर्वक पूजा गरेका खण्डमा सन्तानको बिग्रेको ग्रहगोचर निको हुने र अकाल मृत्युबाट जोगिने भनेर महादेवले पार्वतीलाई सुनाउनुभएको बताइन्छ।
को हुन् जिर्मूतवाहन
भविष्यपुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्र जिर्मूतवाहनमाथि महादेवको असीम कृपा थियो। महादेवले नै जिर्मूतवाहनलाई वरदान दिएकाले सन्तानको अकाल मृत्युबाट बचाउनका लागि जितिया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ।
व्रत बसेका दिनमा व्रतालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अर्घ्य अर्पण गर्छन्। त्यसपछि घर पुगेर डाली ९टोकरी० भर्ने नियम छ। सो डालीमा फलफूल, मिठाइ र नरिवल राखी नयाँ वस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ। पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट छोपिएको सो वस्त्र हटाएर दर्शन गरी प्रसादका रुपमा ग्रहण गरिन्छ।
उपवासका दिन व्रतालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्य रुपमा श्रवण गर्ने गरिन्छ। कथा श्रवण गरेर घर फर्केपछि आँगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जिर्मूतवाहनको पूजा गरिन्छ।