बागलुङ। सामाजिक सञ्जाल फेसबुकमा अरु व्यक्तिकाे मानमर्दन हुने स्टाटस लेखेको भन्दै जिल्ला प्रहरी कार्यालयले बाग्लुङ नगरपालिका-४ का चन्द्राकान्त पौडेललाई पक्राउ गरेको छ।
नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव तथा नेपाली पत्रिका अनलाइनका बागलुङ सम्वाददाता सुवास आचार्य, एभिन्युज खबर बाग्लुङ सम्वाददाता राजेशचन्द्र राजभण्डारी ई.बाग्लुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरे लगायतका व्यक्तिहरूलाइ सामाजिक सञ्जाल फेसबुक मार्फत अपशब्द प्रयाेग गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङमा उजुरी परेपछि उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए।
सामाजिक सञ्जालको दुरुपयोग गरेर चरित्र हत्या, मानमर्दन गरेको बिषयमा उजुरी आएकाले अनुसन्धान र आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको उनले बताए। पौडेलले वेदविद्याश्रममा समान शिक्षाको आवाज सकरात्मक रुपमा उठाए पनि सामाजिक सञ्जालमा अराजक ढंगले प्रस्तुत भएकोमा धेरैले आलोचना गर्दै आएका छन्।
पौडेलले कर्मचारी, नेता, सांसद, प्रधानमन्त्री, सामाजिक अगुवा, धार्मिक अभियन्ता लगायतका बारेमा तुच्छ शब्दहरु प्रयोग गर्दै दैनिक दर्जनौ स्टाटस लेख्दै आएका छन्। पक्राउको बारेमा सूचना लिन खोज्दा आफू यस विषयमा नबाेल्ने जिल्ला प्रहरी कार्यालय बाग्लुङका कामु सूचना अधिकारी हेम केसीले बताए।