क्यालिफोर्नियाको आगलागी झन् फैलिँदै, संकटकाल घोषणा

एजेन्सी। अमेरिकाको क्यालिफोर्नियामा संकटकाल घोषणा गरिएकाे छ।

लस एन्जल्स शहरनजिकैको जंगलबाट शुरु भएको यस वर्षको आगलागी निकै ठूलो क्षेत्रसम्म नै फैलिएर जनधनकाे क्षति भएकाले आगो नियन्त्रणमा आएर सर्वसाधारणलाई सहज वातावरण नहुँदासम्मका लागि यहाँ संकटकाल कायमै रहने बताइएको छ।

प्राप्त समाचारमा सो क्षेत्रमा लागेको भीषण आगो यस वर्ष करिब २० लाख हेक्टर जमिनसम्म पुगिसकेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्। क्यालिफोर्नियाको वन विभाग र आगलागी नियन्त्रण केन्द्रले सो जानकारी दिएको बताइएको छ।

आगलागीका कारण जंगलनजिकै रहेको बस्तीका कैयौँ घर जलेर नष्ट भएका छन् भने सयौँ मानिस विस्थापित पनि भएका त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ। उक्त विभागले दिएको जानकारीमा यहाँका घर तथा अन्य सरकारी तथा निजी गरी ३ हजार ३०० भन्दा बढी संरचनाहरु जलेर नष्ट भएका छन्।

अन्य सम्बन्धित समाचार:  म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु

यस वर्षको आगलागीका कारण आठ जनाको मृत्यु भएको छ भने राजमार्ग तथा अन्य आवश्यक मार्गहरु पनि बन्द भएका जनाइएको छ। आगलागीसँगै हावा तीव्र गतिमा चलिरहेकाले आगो निभाउन समस्या भएको र यसका कारण ठूलो जंगल क्षेत्र जलेर सखाप भइसकेको अधिकारीहरुले जनाएका छन्।

यहाँ अहिले पनि तीव्र गतिमा हावा चलेको छ र आगोका मुस्लोहरु निस्किएर निकै टाढा टाढासम्म पनि पुगेका छन् । यसले गर्दा यहाँको हावा प्रदुषित हुनुको साथै तातो हावाको वहाब बढेको छ। आगो निभाउनका लागि यहाँ सयौँको संख्यामा अग्नि नियन्त्रक परिचालन गरिएको छ। आगो तीव्र रुपमा फैलिरहेका कारण आसपासका सयौँ भवनहरु खाली गराइएको छ।

आगाे निभाउन विमानबाट पानी हालिएको भए पनि अत्यधिक गर्मी र तेज हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ। आगलागीका कारण शहरका विभिन्न भागमा धुँवाको मुस्लोले आकाश ढाकेको छ।