नेकपाको सहमतीय प्रस्ताव : ओली पूरै कार्यकाल प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष

काठमाडौं। धेरै लामो रस्साकस्सीपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सहमती हुने छाँटकाँट देखिएको छ।

नेकपाका दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले मिलेर एउटा सहमतीय प्रस्ताव अघि बढाउने भएका छन्। उक्त प्रस्ताव भदौ २६ गते बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी भइरहेको छ।

उक्त प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीले पूरै कार्यकाल सरकार सञ्चालन गर्ने छन् भने प्रण्डले अब पार्टीको नेतृत्व गर्ने छन्। अर्थात् प्रचण्ड मात्र नेकपाको अध्यक्ष रहने छन्।

प्रचण्डलाई कार्यकारी अधिकारसहित समग्र पार्टी कामको जिम्मेवारी दिइने छ। नेकपाको विवाद मिलाउन गठित कार्यदलले पेश गरेको प्रतिवेदनलाई दुवै अध्यक्षले परिमार्जन गरी सहमतीको प्रस्ताव तयार पारेका हुन्।

दुई अध्यक्ष हुँदा पार्टीको काम कारवाही प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उक्त प्रतिवेदनमा समावेश गरिएको छ। दुई अध्यक्ष हुँदा पार्टीभित्र अविश्वास मात्र पैदा भएको छ।
एउटा समस्या समाधान हुने वित्तिक्कै अर्को समस्या आउने गरेको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले स्विच थिचेसँगै सुन्दरीजलमा झर्यो मेलम्चीको पानी

पार्टीभित्रको शीर्ष तहमा हुने गरेको किचलोका कारण नेकपाको गाउँसम्मको तह र तप्कामा आपसमा सम्बन्ध बिग्रिँदै गएको उक्त प्रतिवेदनमा उल्लेख छ। पार्टी विधान बमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयारी गरी सम्बन्धित कमिटीको बैठकमा पेश गर्ने र तदअनुरुप बैठक सञ्चालन गर्ने समेत प्रस्तावमा उल्लेख छ।

ओली र प्रचण्डबीच भएको सहमतीको १५ पृष्ठ लामो प्रस्ताव अध्ययन गर्न पार्टीका स्थायी समिति सदस्यलाई उपलब्ध गराइएको छ। गत असार १० गतेदेखि बसेको नेकपाको बैठक बीचमा ओलीको राजीनामा मागिएपछि साउन १३ गतेदेखि अवरुद्ध हुँदै आएको छ।

अब ओली र प्रचण्डले संयुक्त रुपमा तयार पारेको प्रस्ताव पारित भए ओलीले पूरै कार्यकाल सरकार सञ्चालन गनेछन् भने प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारी लिनेछन्।

अन्य सम्बन्धित समाचार:  ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश

पार्टीभित्र बाँकी रहेको एकीकरणका कामहरु भने असोजभित्रै सक्ने सहमती भएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। त्यो बेला शीर्ष नेताहरूबीच तीन महिनाभित्र एकीकरणका काम सक्ने सहमती भए पनि २७ महिना बितिसक्दा पनि सहमती कार्यान्वयन हुन सकेको छैन।

ओली र दाहालबीच पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने सहमती भएको छ। महाधिवेशनका लागि कार्ययोजना बनाउन केन्द्रीय कमिटीको बैठक कार्तिक १५ देखि १७ गतेसम्म आयोजना गर्ने ओली र प्रचण्डले तयार पारेको प्रस्तावमा उल्लेख छ।