सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौंमा

काठमाडौं। नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित राजधानी काठमाडौँमा रहेका छन्। बुधबारसम्म काठमाडौँमा कोरोना संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ।

गत साउन ५ गते काठमाडौँमा मात्र २ जना संक्रमित थपिएका थिए। त्यसपछि साउन १९ गते ४३ जना संक्रमित थपिए। साउन २७ गते एकैपटक ११० जनामा कोरोना देखियो। भदौ ९ गते २०० जना संक्रमित थपिए।

बुधबार काठमाडौँमा ३९४ जना संक्रमित थपिए। अब काठमाडौंमा दैनिक ४०० को हाराहारीमा संक्रमित थपिन थालेका छन्।

हालसम्म काठमाडौंमा ५ हजार १२० पुरुष र २ हजार ४९१ महिला कोरोनाबाट संक्रमित छन्।

बुधबारसम्म नेपालमा ४९ हजार २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन सय १२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण

काठमाडौँपछि पर्सामा २ हजार ५०६, सर्लाहीमा २ हजार १२३, मोरङमा २ हजार ४३, रौतहटमा १ हजार ९९६, धनुषामा १ हजार ८५२, कैलालीमा १ हजार ८२१, रुपन्देहीमा १ हजार ४३८, महोत्तरीमा १ हजार ३७९ तथा बाँकेमा १ हजार २८९ कोरोना संक्रमित रहेका छन्।