नवलपरासीमा शुल्क नतिरेको निहुँमा प्रिन्सिपलले अभिभावकको खुट्टा भाँचे

नवलपरासी। नवलपरासीको एक निजी विद्यालयका प्रिन्सिपलले शुल्क नतिरेको निहुँमा एक अभिभावकको खुट्टा भाँचेका छन्।

नवलरासी पश्चिमको विनयी त्रिवेणी गाउँपालिका–६ रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यलाई कुटपिट गरी खुट्टा भाँचेका हुन्।

आचार्य उच्च रक्तचाप र मधुमेहका विरामी समेत हुन्। आठ वर्ष पुरानो बक्यौता भुक्तानी नगरेको भन्दै कुँवरले आचार्यलाई कुटपिट गरेका हुन्।

आर्थिक अवस्था कमजोर भएका आचार्य बुटवलको लुम्बिनी सिटी अस्पतालमा छन्। उनलाई अस्पतालले भदौ १९ गते डिस्चार्ज गरे पनि घर फर्किन सकेका छैनन्।

आर्थिक अभाव भएका आचार्यले उपचार गरेवापतको रकम तिर्न नसक्दा अस्पतालमै बस्नुपरेको उनका छोरा भरतले बताए। लकडाउन खुलेपछि रकम बुझाउने भनेपनि प्रिन्सिपलले नमानेको उल्टै कुटेको उनको आरोप छ।

अन्य सम्बन्धित समाचार:  प्रहरीले सामाजिक सञ्जालमा सामाग्री शेयर गर्न नपाउने

आचार्य परिवारले प्रिन्सिपल कुँवर विरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा उजुरी दिएको छ। प्रहरीले कुँवरलाई पक्राउ गर्न सकेको छैन।

प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले प्रिन्सिपल कुँवरविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको बताए। घटनापछि प्रिन्सिपल कुँवर फरार रहेको उनले बताए।