सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला कारागारका ५९ कैदी कोरोना भाइरसबाट संक्रमित भएका छन्। यतिधेरै कैदीमा कोरोना देखिएको यो पहिलो पटक हो।
कारागारका निमित्त प्रमुख बबिता महतोका अनुसार संक्रमि कैदी सबै पुरुष रहेका छन्। केही दिनअघि पुर्पक्षका लागि ल्याइएका ७ थुनुवामा कोरोना देखिएको थियो। पछि सबैको पीसीआर परीक्षण गरिएको थियो।
यसअघि सिरहा कारागारका २१ कैदीलाई कोरोना भाइरस सर्न सक्ने भन्दै रिहा गरिएको थियो। एक वर्षभन्दा कम कैद सजाय पाएका उनीहरुलाई रिहा गरिएको हो।
सिरहा कारागारको क्षमता १५० कैदी राख्ने छ। तर यहाँ अहिले ५९६ कैदीलाई राखिएको छ। उनीहरुमध्ये १८ महिला र २ बालबालिका छन्।
बाँकी कैदी र कर्मचारीको स्वाब संकलन गरिने महतोले बताइन्।