बैतडीमा लकडाउनकै अवधिमा दश जनाले गरे आत्महत्या

दिपक महरा, बैतडी। पछिल्लो समयमा बैतडीमा आत्महत्याका घटनाहरु बढ्दै जान थालेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको २ महिनामा ७ जनाले आत्महत्या गरिसकेका छन्। आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

कोरोना भाइरसको महामारी फैलिए यता आत्महत्या गर्नेको संख्यामा वृद्धि भइरहेको उनले बताए। उनले भने, ‘पछिल्लो समयमा आत्महत्याका घटना बढ्दै गएका छन्। यसमा कोरोना महामारीका कारण मानिसहरु निराश भएर पनि केही हदसम्म आत्महत्या गर्न बाध्य भएका पाइएकाे छ।’ नेपालमा लकडाउनका बीच १० जनाले आत्महत्या गरिसकेका छन्। १० जनामध्ये ९ जना महिला र १ जना पुरुष रहेका जिल्ला प्रहरी कार्यालय बैतडीको महिला सेलले जानकारी दिएको छ।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य सेवा दिन ‘गाउँघरैमा चिकित्सक’ कार्यक्रम

मानिसमा विभिन्न खालका नैराश्यता आउने र उचित खालको परामर्श नपाउँदा मानिसहरुले आत्महत्याको बाटो रोज्ने गरेको मनोपरामर्शदाता शान्तबहादुर खड्काले बताए। उाले भने, ‘उचित किसिमको परामर्श नहुँदा मानिसहरुले आफ्नो जिन्दगी समाप्त पारिरहेका छन्। त्यसैले मानिसमा देखिएका समस्या समाधानका लागि मनोसामाजिक विमर्शका कार्यक्रम सञ्चालन गर्नुपर्छ।’

यस बाहेक गरिबी, सामाजिक मूल्यमान्यता, मानसिक समस्या, विभिन्न प्राकृतिक विपत्ति, बसाइँसराइ, प्रेममा असफलता लगायतका कारणले आत्महत्याका घटनामा वृद्वि भएको जानकारहरुले बताएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष आठ लाख व्यक्तिले आत्महत्या गर्ने गरेका छन्। आत्महत्या जस्ता विकृति रोक्न स्थानीय तहहरुसँग भने ठोस कार्यक्रम छैन। मानसिक स्वास्थ्यका कार्यक्रम अघि बढाउन सके यस्ता घटनामा केही कमी आउन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  भीरबाट खसेको ढुंगाले टाउकोमा लाग्दा बालिकाको मृत्यु

बैतडीमा कोरोना भाइरसको महामारीका बेला भारतबाट मात्रै १२ हजार बढी नागरिक रोजगारी गुमाएर फर्केका छन्। यो अवस्थामा उनीहरुमा विभिन्न खालका मानसिक समस्या आउने र यसले आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारीले बताए।

उनले भने, ‘अहिलेको अवस्थामा मानिसहरु विभिन्न समस्यासंग जुधिरहेका छन्। ती समस्याको समाधान पहिल्याउन नसक्दा आत्महत्याका घटनामा वृद्धि भइरहेको छ। आत्महत्या जस्ता जघन्य विकृति रोक्न मानसिक स्वास्थ्यका कार्यक्रम ल्याउनु आवश्यक छ।’