पत्रकार वीरेन्द्र साहकाे हत्यामा संलग्न भएकाे आराेपमा १३ वर्षपछि अर्का एक जना पक्राउ

पर्सा। २०६४ सालमा बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न चौथो आरोपित बिहीबार पक्राउ परेका छन्। बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले पक्राउ गरेको हो।

स्थानीय कोल्हवी नगरपालिका–४ सपही टोलबाट पटेललाई बिहीबार दिउँसो साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।

पत्रकार साहको हत्या आरोपमा यसअघि तीन जना पक्राउ परिसकेका थिए। चौथो अभियुक्त हरेरराम पटेललाई पनि पक्राउ परेका र उनलाई आवश्यक कारबाहीका लागि अदालत पठाउने तयारी भएकाे प्रहरीले जनाएकाे छ।

१८ असोज २०६४ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका पत्रकार वीरेन्द्र साहको जिल्लाकै डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो।

पत्रकार साहलाई हरेराम पटेल, कुन्दन फौजदार भन्ने नरेन्द्रकुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी हत्या गरेको आरोप लागेको थियो। उनीहरुले गोली प्रहार गरेर हत्या गरेपछि पत्रकार साहको शव जंगलमा खाल्डो खनेर गाडेको प्रहरीको निश्कर्ष थियो ।

यसअघि तत्कालीन इनर्वासिरा गाविस–९ का मनेजर गिरीलाई २०६५ असोज १९ गते र बाराकै खोपवा गाविस–८ बस्ने राम एकवाल सहनीलाई २०६५ पुस २१ गते पक्राउ गरी जन्मकैदको फैसला भइसकेको छ।

त्यस्तै साविकको बारा गडहल–५ बस्ने कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते पक्राउ परी हाल पुर्पक्षका लागि कारागार चलान गरिएको छ।