सीपीएलको उपाधि ट्रिनबागोलाई

एजेन्सी। क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी २० क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ।

बिहीबार राति ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनल खेलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराएर उपाधि चुमेको हो। ट्रिनबागो उपाधि जित्दासम्म अपराजित रह्यो।

उसले फाइनलसम्म पुग्दा खेलेका सबै १२ खेल जित्यो। ट्रिनबागोले चौथो पटक उपाधि जितेको हो। जुक्सले जितका लागि ट्रिनबागोलाई १५५ रनको लक्ष्य दिएको थियो।

ट्रिनबागोले सो लक्ष्य १८ दशमलव १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। ट्रिनबागोका लागि सिमोन्सले अविजित ८४ रन बनाए। उनले ४९ बलमा ४ छक्का र ८ चौका प्रहार गरे। डारेन ब्राभोले अविजित ४८ रन बनाए। उनले ४७ बल खेल्दै ६ छक्का र २ चौका हाने। दुवै जनाले १३८ रनको साझेदारी गरे।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित

जुक्सका लागि स्कट कुगेलिन र रोसटन चेसले एक एक विकेट लिए।

यसअघि ब्रायन लारा क्रिकेट एमेडेमीमा टस हारेर ब्याटिङ गरेको जुक्सले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो।

जुक्सका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३९, मार्क दयाले २९, नजिबुल्लाह जद्रानले २४ तथा रोस्टन चेसले २२ रन बनाए। ट्रिनबागोका कप्तान केरेन पोलार्डले ४ विकेट लिए। अली खान र फवाद अहमदले दुई दुई विकेट लिए।

ट्रिनबागोका सिमोन्स म्यान अफ दि म्याच भए। ट्रिनबागोका पोलार्ड म्यान अफ दि सिरिज घोषित भए। उनले लिगभर ११ खेल खेल्दै २०७ रन बनाए भने बलिङमा ८ विकेट लिए।

ट्रिनबागोले यसअघि सन् २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो। यस्तै जमैका तलावाज र बार्बेडोसले दुई दुई पटक उपाधि जितेका छन्।