बैतडी: बलात्कार आराेपमा दुुई जना पक्राउ

दिपक महरा, बैतडी। १३ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामा सुर्नया गाउँपालिका-८ का ३१ वर्षीय अर्जुन साँउद र कैलालीको गोदावरी नगरपालिका-२ का ३० वर्षीय वासुदेव पन्त रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए।

अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया किशाेरीलाई जबरजस्ती करणी गरेको र वासुदेवले अर्जुनलाई सहयोग गरेको किटानी जाहेरी दिएपछि पक्राउ गरिएकाे प्रहरीकाे भनाइ छ। अर्जुन र वासुदेव दुवै जना कैलालीमा बस्दै आएका र वासुदेवको ती बालिकासँग गत जेठदेखि नै फोन सम्पर्क भइराख्ने गरेको पाइएको छ।

फोनमा कुरा भइराख्ने भएकाले बुधबार भेट्नको लागि वासुदेवले अर्जुनलाई मोटरसाइकलमा लिएर गएको प्रहरीले जनाएको छ। बुधबार बेलुका गाउँमै पुगेर बालिकालाई मोटरसाइकमा लिएर जिल्लाको सिगास गाउँपालिका ९ स्थित बित्थड भन्ने जंगलमा अर्जुनले जबरजस्ती करणी गरेको परिवारले आरोप लगाएका छन

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै

शुक्रबार इलाका प्रहरी कार्यालय पाटन पुगेर बालिकाकी आमासहित आफन्तले जबरजस्ती करणीको जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ। जाहेरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए। उनका अनुसार घटनामा संलग्न दुवैलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रबार नै ५ दिन म्याद थप गरिएको र पीडित बालिका आमासँगै घर फर्किएकी छिन्।

यसअघि भदौ २४ गते पनि जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले शिक्षक, कर्मचारीसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।