कमरेड! लुट्नुस् म बोल्दिन

  • देवराज कार्की

नराम्रो काम गर्नेको विरुद्धमा
लेख्न र आवाज उठाउन
आफ्नै कमरेडले पनि
गल्ती र खराब काम गर्दा
गाउँमा संगठन गर्दै हिड्दा
आलोचना गर्न सिकाउने
तपाईँ नै होइन र कमरेड?

एकतन्त्रीय शासन विरुद्ध
संघर्षको मैदानमा
पार्टी खोल्न पाउनुपर्छ
बोल्ने र लेख्ने स्वतन्त्रता
जनताका मौलिक हक अधिकार
लागु गर! लागु गर! भन्दै
सडकमा सयौँ मानिस जम्मा गराएर
नारा लगाउदै हिड्दा
फाँसिस्टको गिरफ्तारमा परी
कैयौँ अमानवीय बर्वरतापूर्ण
यातना र जेलको कालकोठरी
नेल सिक्री भोग्ने
तपाईं नै होइन र कमरेड?

हामी सबै त्यो कालो रात
र त्यसका यातना भोगेर
अहिलेको पार्टी बनाउने
जगको ईँट गाउँमैँ छौँ
तपाईं सांसद हुनुभो
तपाईं मन्त्री हुनुभो
खै कसरी हो?
ठेक्का पट्टा मिलाएर
करोडौं नजराना लिएर
राजधानीमा आलिशान बंगला
अनि महंगो गाडी जोड्नुभयो
त्यो पहिलाको सिद्धान्त
के के वाद र वर्गसंघर्ष सकियो
त्यही भएर अहिले नेताका
कर्तुतको पर्दाफास गर्न पाइदैन भनेर
पंचायतकै ढाचामा निर्णय गर्नुस्
म त्यो मान्न तयार छु कमरेड!

खानुस् कमरेड
मल ठेक्कामा, रेल ठेक्कामा
महामारीको ओखतीको ठेक्कामा
ओम्नी, यती,आइसोलेसन, भेन्टिलेटर के के भन्दै
छाद्ने गरी खाऊँ
भुँडी फुट्ने गरी खानुस्
म केही भन्दिन
देखेको नदेखै गरौँला।

श्रीमतीको माईती बिचरा
किलोका किलो सुन चाँदी
हिरा, जवाहरत दाइजो देखाएर खानुस्
किनकी तपाईं त
दाइजो बिरोधी पनि हो नि
सालासाली मात्रै होईन
ससुरालीको कुकुर देखाएर खाऊँ
म देखेको नदेखेझैँ गर्छु।

तपाईँले खराबको बिरोध नगर्न
आलोचना नगर्न गल्ती देखाएर
सही बाटोमा ल्याउन
प्रतिबन्ध लगाउनु भएको सुनेर
म हर्षले गदगद् भएको छु
त्यो तपाईको महान निर्णयले
सयौ भुरे टाकुरे राजा जन्मायो
तपाईंको कम्युनिष्ट सिद्धान्त यस्तो भयो कि
पिस्करको गित
अब पशुपति राणाले
खोकु छिन्ताङको गित
अब सुनील थापाले गाउनेछन्।

तपाईँले पहिला भनेका कुरा
जनताका हुन्थे
तपाईले चालेका कदम
प्रगतिशील हुन्थे
त्यही भएर त अहिले
अजंगको दल बन्यो
त्यो तपाईँको बुताले मात्रै होइन
कैयौँको बलिदान र त्यागले आइपुगेको हो
अब तपाईं मैमत्ता भएर
जे मन लाग्यो त्यही बोल्ने
जे मन लाग्यो त्यही गर्ने
भूईफुट्टा राजा हुनु भएको छ
अब श्री ५ पनि लेखिबक्स्योस् हजुर
म शब्दै पिच्छे हस् लगाईदिउँला।

जति गर्नुछ गर्नुहोस्
जनताले सबै नदेखे जस्तो गरौँला
तपाईं चौरासी ब्यञ्जन घिच्नुस्
हामी भोकै बसिदिउँला
हुन्छ कमरेड अब
जति लुट्नुस्, भ्रष्टाचार गर्नुस्
ठेकेदारसंग, बिचौलियासंग
बिस्तारवादी र साम्राज्यवादीसंग
घाँटी जोडेर जति सकेको
कुम्ल्याउनुस् कमरेड
म अब केही भन्दिन
केही लेख्दिन
तपाईहरुका हरेक कर्तुत देखेर
म अन्धो भै सकेको छु
अब म केही पनि देख्दिन
कमरेड! म बोल्दै बोल्दिन।