भक्तपुरमा श्रीमती र छोराको हत्यापछि आत्महत्या गरेको आशंका

भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६ कुन्डोलमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

श्रीमती र छोराको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरी सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

शुक्रबार साँझ सुदीपका भाइ सुनीलले घर भित्रको अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए।

भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुग्दा सुदिप र उनकी श्रीमती ३४ वर्षीया सम्झना तथा १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो।

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि अपराधस्थलमा बोलाएको थियो।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली

सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ। पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो।

प्रहरीका अनुसार भित्तामा रगत देखिन्छ। श्रीमती र छोराको टाउकोमा गहिरो चोट छ।

धारिलो हतियार प्रयोग गरी श्रीमती र छोराको हत्या गरिएको हुनसक्ने अनुसन्धानमा खटिएको प्रहरी टोलीको अनुमान छ। श्रीमती र छोराको शव सडिसकेको अवस्थामा थियो।

घरको अन्तिम तलामा सुदिप मृत भेटिएका थिए। उनलाई चोटपटक लागेको छैन।

घटनास्थलमा सुदीपले वान्ता गरेको पाइएको छ। भ¥याङमा कुकुर पनि मृत भेटिएको छ। कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

भान्सामा भेटिएको खाना परीक्षण गरिने प्रहरीले जनाएको छ।