बैतडीमा जबरजस्ती करणीका घटना बढ्दै

दिपक महरा, बैतडी। बैतडीमा पछिल्लो समय जबरजस्ती करणीका घटना बढ्दै गएका छन्। सामाजिक सञ्जालको दुरुपयोग, फोन, इन्टरनेट आदिका माध्यबाट यस्ता घटनाहरुमा बढोत्तरी भएको प्रहरीको निष्कर्ष छ। पछिल्ला वर्षहरुको तथ्यांक नियाल्दा जबरजस्ती करणीका घटना बढ्दै गएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने ‘पछिल्लो समयमा विकृत मानसिकताबाट यस्ता घटना भइरहेका छन्। आफ्नै छोरीलाई बुवाले बलात्कार गरेका, आफ्नै आमालाई छोराले बलात्कार गरेका घटना समेत बाहिर आएका छन्।’

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५-७६ मा ८ ओटा जबरजस्ती करणीका घटना भएका थिए भने अघिल्लो आर्थिक वर्षमा ९ ओटा घटना भएका छन्। चालु आर्थिक वर्षको अहिलेसम्म प्रहरीमा जबरजस्ती करणीका ४ ओटा घटना आइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाः बेलौरीका एक जनाको मृत्यु

यी घटनाहरुमा धेरै जसो किशोरीहरु पीडित रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाउ अधिकारीले जानकारी दिए। यस्ता खालका घटनाहरु समाजमा पहिला पनि भइरहने तर हिजोआज प्रहरीमा आउन थालेका उनले बताए। महिला हिंसा न्यूनीकरण सम्बन्धी विभिन्न खालका कार्यक्रम सञ्चालनमा आएपछि महिलामाथि हुने हिंसा बाहिर आउन थालेका अधिकारकर्मीहरुको भनाइ छ।